
सुन्दर कुमार थकाली/
मुस्ताङ, वैशाख २७ । शनिबार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुुक्तिनाथ भ्रमणको पूर्वतयारी तथा व्यवस्थापनका लागि भारतीय प्राविधिक तथा व्यवस्थापनको एक टोली जोमसोम आईपुगेको छ ।
मेडिकल लगायत अतिआवश्यकीय सामग्रीसहित उच्चस्तरीय भारतीय टोली जोमसोम आएको हो ।
भारतीय हेलिकोप्टरमार्फत जोमसोम आएको प्राविधिक टोली बिहीबार नै मुक्तिनाथ क्षेत्र जाने भएको छ । मोदी भ्रमणको व्यवस्थापनका लागि बिहीबार नै भारतीय अधिकारीसहित जिल्ला सुरक्षा समितिको बैठक मुक्तिनाथमा बस्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।
यस्तै जिल्ला सुरक्षा समितिले मोदीको भरपर्दो सुरक्षाका लागि शुक्रवार मध्याह्न ४ बजेदेखि शनिबार १२ बजेसम्म मुक्तिनाथक्षेत्रको ८ सय मिटर वरपर पुरै शिल गर्ने भएको छ ।
मोदीको सुरक्षाका लागि राज्यका तर्फबाट पर्याप्त सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
मुुस्ताङको आकाश बिहीबार हेलिकोप्टरमय भएको छ ।
मोदीको भ्रमणका लागि मुक्तिनाथक्षेत्रमा ५ वटा हेलिप्याड बनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्