११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025


शान्तिका लागि संयुक्त लडाईंमा सहभागी हुन विश्व नेतालाई आह्वान


0
Shares

पेरिस, कात्तिक २६ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले शान्तिका लागि एउटा संयुक्त लडाईंमा सहभागी हुन विश्व नेताहरुलाई आह्वान गरेका छन् ।

राजधानी पेरिसमा प्रथम विश्वयुद्ध अन्त्यको सम्झौतामा हस्ताक्षर भएको एकसय वर्ष पुगेको स्मृतिमा आयोजित समारोहमा उनले आफूभित्र रहेको डर राख्नुको साटो आशाहरू जगाउन आग्रह गरे । देशभक्ति राष्ट्रवादको ठिक विपरीत भएको उनको तर्क थियो ।

आर्क डि ट्रीओम्फ स्मारकमा आयोजित समारोहमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका ७० भन्दा बढी नेता सहभागी थिए । एकजना अज्ञात सैनिकको समाधिस्थलमा स्मृतिसभा आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन पेरिस पुगेका विश्व नेताहरुबीच द्विपक्षीय वार्तासमेत भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच पनि भेटवार्ता भएको बताइएको छ ।

विश्वका विभिन्न शहरहरूमा पनि प्रथम विश्वयुद्ध समाप्तिको सम्झनामा कार्यक्रमहरू भएका छन् । सन् १९१४ देखि १९१८ सम्म चार वर्ष चलेको प्रथम विश्व युद्धका क्रममा करिब ९७ लाख सैनिक र १ करोड गैरसैनिक मारिएका थिए । (एजेन्सी)