
फाइल तस्वीर
विराटनगर, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उर्लाबारी–५ का रेवत आचार्यलार्ई गएराति पक्राउ गरेको हो । उनी तत्कालिन एमाले कार्यकर्ता हुन् ।
चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उर्लाबारीमा आचार्यको सुन पसल छ ।
प्रहरीले भने आचार्यलाई पकाउ गरिएको विषयमा कुनै जानकारी दिएको छैन । मोरङका प्रहरी नायव उपरीक्षक निशान थापाले यो विषयमा थप खुलाउन चाहेनन् ।
यसैबीच, मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ को बयान आज पनि लिने भएको छ । लगातार दुई दिनसम्म गोरेसँग लिइएको बयान नसकिएपछि आज पनि लिन लागिएको हो ।
अदालतले गोरेसँग हिजो साढे ५ घण्टा बयान लिएको थियो । गोरेको बयानबाट धेरै महत्वपूर्ण सूचना आएको अदालत स्रोतले जनाएको छ ।
बयानमा उनले केही ठूला ब्यक्तिको नामसमेत खोलेको बताइएको छ । तर ती नामहरु खुलाउन बयान लिने अधिकारीहरुले अस्वीकार गरेका छन् ।
गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्