
हुम्ला, जेठ २५ । जिल्ला प्रहरी कार्यालय, हुम्लाको हिरासतबाट दुईजना कैदी भागेका छन् ।
जिल्लामा कारागारको भवन नभएका कारण हिरासतमा कैद भुक्तान गरिरहेका उनीहरु प्रहरीलाई छलेर भागेको प्रहरीले जनाएको छ । ज्यान मुद्दा अन्तर्गत पुर्पक्षका लागि थुनामा रहेका लोकेन्द्र बुढा र सार्वजनिक मुद्दा अन्तर्गत थुनामा रहेका लेखे नेपाली प्रहरी हिरासतबाट भागेका हुन् ।
बिहान ३ देखि ५ बजेको समयमा हिरासतबाट दुवैजना भागेको हुन सक्ने प्रहरीको अनुमान छ । साढे ५ बजेतिर मात्र कैदी भागेको थाहा पाएको हो । उनीहरुको खोजीमा लागेको प्रहरीले लोकेन्द्र बुढालाई सिमकोट गाउँपालिका–८ याङ्गुबाट पक्राउ गरिसकेको छ भने लेखे नेपालीको खोजीका लागी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक बिष्णुबहादुर सिंहले जानकारी दिए ।
उनीहरु कसरी भागे भन्नेबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस्