Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


मनोज पुनका ८ सहयोगी थुनामा


0
Shares

पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग गरेको प्रमाणका आधारमा पक्राउ परेका उनीहरुविरुद्ध अदालतमा भएको थुनछेकको बहसपछि जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका शाखा अधिकृत गंगाप्रसाद आचार्यले जानकारी दिए ।

प्रहरीले पक्राउपछि झन्डै डेढ महिनाको अनुसन्धानपश्चात् केही दिनअघिमात्र उनीहरुविरुद्ध अदालतमा मुद्दा पेस भएको थियो ।

अदालतमा चिरञ्जीवी पौडेलको जाहेरीमा विवेक भनिने सुवास गुरुङ, राम गुरुङ, हरिप्रसाद श्रेष्ठ, लेखनाथ न्यौपाने, तुल्सीराम न्यौपाने, उत्तम आचार्य, सुजु मल्ल र रोशन खड्काविरुद्ध संगठितरुपमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो ।

यस्तै, रेनु तिवारी र कृष्ण पौडेलको अलग–अलग जाहेरीमा श्रेष्ठ, न्यौपानेद्वय, आचार्य, मल्ल र खड्काविरुद्ध संगठितरुपमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो भने नारायणबाबु बस्नेतको जाहेरीमा संगठितरुपमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो ।

अदालतले उनीहरु सबैलाई मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ को देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको शाखा अधिकृत आचार्यले जानकारी दिए । रासस