
नेपालगन्ज, कात्तिक १९ । भारतमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ ।
खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा भारतमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको हो ।
गाजियावादको इन्द्रपुरममा अलपत्र परेका ३७ महिलालाई भारतीय प्रहरीको सहयोग तथा दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा माइती नेपाल र माइती इन्डियाले गत कात्तिक ६ र ७ गते उद्धार गरेको थियो ।
उनीहरूलाई आवश्यक परामर्शपछि पारिवारिक पुनःस्थापनाका लागि सोमबार नेपालगन्ज ल्याइएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।
भारतीय प्रहरीको सुरक्षामा उनीहरूलाई नेपालगन्ज ल्याइएको थियो ।
उद्धार गरिएकामा झापाका सबैभन्दा धेरै १० जना रहेका छन् । उनीहरूलाई परिवारको सम्पर्कका आधारमा घरसम्म पुर्याइने उनले जानकारी दिए ।
खाडी मुलुक कुवेत र साउदी अरबमा मासिक रु ५० हजार तलब मिल्नेगरी रोजगारी दिलाइदिने आश्वासनपछि आफूहरू जान तयार भएको उनीहरुले बताएका छन् ।
१७ जना, १३ जना र सातजना गरी ३७ महिलालाई छुट्टाछुट्टै स्थानमा राखिएको अवस्थामा उद्धार गरिएको माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डेले बताए ।
अलपत्र महिला बेचबिखनको जोखिममा रहेका सूचनाका आधारमा छापा मार्दा भारतीय केदार नामका एकजना पक्राउ परेको पाण्डेले जानकारी दिए ।
केदारले खाडी मुलुकमा नेपाली महिला पठाएबापत प्रतिमहिला चार लाख भारतीय रुपैयाँ आफूले पाउने गरेको भारतीय प्रहरीसामु बयान दिएको उनले जानकारी दिए ।
यस्तै, दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलाको पनि उद्धार गरिएको छ ।
उनीहरूलाई तीन महिनापहिला दिल्लीको जिवीरोडस्थित १५६ नम्बर कोठीबाट उद्धार गरिएको माइती इन्डियाका संस्थापक पाण्डेले जानकारी दिए ।
सिन्धुपाल्चोकका दुई र नुवाकोटका एकजना गरी तीनको उद्धार गरिएको हो ।
जिल्ला अदालत गाजियावादले उद्धार गरिएका महिलालाई आवश्यक परामर्श र पारिवारिक पुनर्मिलनका लागि आदेश दिएपछि ३७ जना महिलासँगै उनीहरूलाई पनि नेपाल ल्याइएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्