८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, चिना जलाइएन


0
Shares

काठमाडौं, कात्तिक १९ । वरिष्ठ मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

सोमबार काठमाडौंको शोभाभगवतीस्थित कर्णदीपमा तुलाधरको दाहसंस्कार गरिएको हो ।

तुलाधरको पार्थिव शरीरमा उनका जेठो छोरा सुजनरत्न तुलाधरले दागबत्ती दिएका थिए ।

त्यसअघि, उनको पार्थिव शरीरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

अन्त्येष्टि संस्कारअनुसार चिना जलाउनुपर्ने भएपनि तुलाधरको चिना भने ऐतिहासिक दस्तावेजकारुपमा सुरक्षित राख्न ‘आशासफू कुथि’लाई हस्तान्तरण गरिएको थियो ।

लैनचौरस्थित निवासबाट तुलाधरको पार्थिव शरीर शवयात्रासहित केशरमहल, रानीपोखरी, कमलाक्षी, असन, न्हयकंतल्ला, थाय्मरु, त्यंग, क्षेत्रपाटी, जोगिंपाखा हुँदै शोभाभगवती पुर्‍याइएको थियो ।

त्यसअघि, उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले स्व. तुलाधरप्रति अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

तुलाधरको ७८ वर्षको उमेरमा आइतबार दिउँसो नर्भिक अस्पतालमा उपचारकाक्रममा निधन भएको थियो ।