
तेह्रथुम, कात्तिक १९ । प्रदेश १ र २ का पर्यटकीय गन्तव्य र सम्भावनाहरुको अध्ययन गरी प्रचार प्रसार गर्ने मुख्य उद्देश्यसहित पोखराका एक युवा साइकल यात्राका क्रममा तेह्रथुम पुगेका छन् ।
उदयपुरबाट यात्रा सुरु गरेको २० औँ दिनमा साइकल यात्री दिवस गुरूङ तेह्रथुमको म्याङलुङ आइपुगेका हुन् । ताप्लेजुङमा रहेको तिर्थस्थल पाथीभरा पुगेर पाँचथर हुँदै तेह्रथुमको आठराई भएर म्याङलुङ आइपुगेको गुरुङले बताए ।
दिगो विकासका लागि साइकल अभियान ‘देश घुमौं, देश बुझौं’ भन्ने मुल नाराका साथ असोज २८ गतेदेखि ‘नेपाल साइकल यात्रा’ नामाकरण गरेर हिँडेको साइकल यात्री गुरुङले बताए । आफुले यात्राका क्रममा अटिजम र रक्तदानका बारेमा प्रचार गर्ने कार्यसमेत गरिरहेको उनको भनाइ छ ।
४० दिने साइकल यात्रामा प्रदेश–१ का १४ जिल्लाका साथै २ नम्बर प्रदेश सहितका तराईका सबै जिल्ला पुग्ने उनको लक्ष्य छ । गुरुङ वि.सं. २०७२ को भूकम्पपछि भारतले गरेको अघोषित नाकाबन्दीले निम्त्याएको इन्धन संकटपछि साइकल चलाउन प्रेरित भएका थिए ।
पर्यटन वर्ष २०२० को प्रवर्द्धन, स्वास्थ्य तथा वातावरण र पर्यटनका लागि साइकलको महत्व दर्शाउने, अटिजम सम्बन्धी जनचेता, रक्तदानको महत्व दर्शाउनका साथै जैविक विविधता संरक्षणमा जोड दिने उद्देश्य रहेको गुरूङले बताए । यात्रामा १ लाख रुपैँया खर्च लाग्ने र खर्चको व्यवस्थापन आफैँले गरेको गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्