
डीबी विष्ट (इमेज)
बझाङ, कात्तिक १८ । बझाङमा हिमपात भएको छ ।
आइतबार बिहानदेखि बझाङका साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा वर्षासँगै हिमपात भएको हो ।
शनिबार रातिदेखि वर्षा हुन सुरु भएको थियो ।
हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।
वर्षा र हिमपातका कारण चिसो निकै बढेको सुर्मा गाउँपालिकाका स्थानीय नरेशबहादुर बोहराले बताए । गाउँ क्षेत्रमा सामान्य हिमपात भएपनि गाउँभन्दामाथिको जंगलमा बाक्लो हिमपात भएको उनको भनाइ छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्रकारुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्जमा हिमपातका कारण सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीको जनजीवनसमेत प्रभावित बनेको बताइएको छ ।
निकुञ्ज क्षेत्रमा अहिले पनि सिमसिम पानी परिरहेको छ । अझै हिमपात हुनसक्ने अनुमान गरिएको छ । हिमपातले निकुञ्ज क्षेत्र सेताम्य भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्