२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


मनाङ–मर्स्याङ्दी सिक्किममा जारी गभनर्स गोल्डकपको फाइनलमा


0
Shares

काठमाडौं, कात्तिक १५ । मनाङ–मर्स्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सिक्किमको ग्यान्टोकस्थित पाल्चोर रंगशालामा बिहीबार भएको खेलमा कोलकाता एटीके क्लबलाई ६–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङ फाइनलमा पुगेको हो ।

मनाङको जितमा डोना थापाले ह्याट्रिक गरेका थिए । त्यस्तै, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल बस्नेतले एक/एक गोल गरेका थिए ।

खेलको सुरुआतदेखि उत्कृष्ट प्रदर्शन गरेको मनाङले आठौं मिनेटमा अञ्जन विष्टको गोलमार्फत् अग्रता बनायो ।

त्यसपछि ४३औं मिनेटमा डोना थापाले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एटीकेले एक गोल फर्काएको थियो ।

पहिलो हाफमा दुई गोल गरेको मनाङले दोस्रो हाफमा ४ गोल गर्‍यो । ५३औं मिनेटमा डोनाले तेस्रो गोल गरे । ७६औं मिनेटमा विमल रानाले चौथो गोल गरे ।

त्यसपछि ८३औं मिनेटमा डोनाले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । ८५औं मिनेटमा सुजल श्रेष्ठको गोलमार्फत् मनाङले अन्तर ६–१ मा पुर्‍यायो । खेलको अन्तिम मिनेटमा एटीकेले एक गोल फर्काएको थियो ।

प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपीएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो । मनाङले भने सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको हो ।

बाइ पाएर सोझै क्वार्टरफाइनल खेलेको मनाङले मंगलबार भारतीय क्लब कोलकाता कस्टम्सलाई ४–२ ले हराउँदै सेमिफाइनल पुगेको थियो । रासस