काठमाडौं । नागरिक लगानी कोषमा अर्बौं रकम रहेको भन्दै त्यसको सही रुपमा परिचालनका लागि स्पष्ट नीति जरुरी रहेको सांसदहरुले बताएका छन् ।
नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा सांसदहरूले कोषको लगानी नीति, प्रतिफल, संस्थागत सुशासन र योगदानकर्ताको हितका विषय उठाएका हुन् । उनीहरुकाअनुसार अर्बौं परिचालनका लागि स्पष्ट लगानी नीति हुनुपर्छ । कोषको रकम सुरक्षित राख्दै उचित प्रतिफल दिने व्यवस्था गर्नुपर्ने र नयाँ लगानीका क्षेत्रमा प्रवेश गर्दा जोखिम व्यवस्थापन तथा पारदर्शितालाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ ।
नेकपा एमालेका सांसद प्रा.डा. पुष्पराज कँडेलले नागरिकको वचत सुरक्षित राख्नुका साथै त्यसबाट उचित मुनाफा दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । कोषको रकम नयाँ क्षेत्रमा लगानी विस्तार गर्ने भनिए पनि त्यसका लागि स्पष्ट नीति बनेको छ कि छैन भन्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले कोषमा अर्बौं रुपैयाँ जम्मा भइसकेको अवस्थामा यति ठूलो रकम परिचालन गर्दा स्पष्ट लगानी नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । लगानीका नयाँ क्षेत्रमा प्रवेश गर्दा त्यसको आधार, प्रक्रिया र प्रतिफल सुनिश्चित गर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कँडेलले भन्नुभयो,‘नागरिकको पैसा राख्ने संस्था भएकाले त्यसलाई सुरक्षित राख्नुपर्छ र त्यसबाट उचित मुनाफा पनि दिनुपर्छ भन्ने कुरा सर्वमान्यजस्तै भएको छ । त्यसैका लागि यो संशोधन विधेयक ल्याइएको हो भनेर माननीय मन्त्रीज्यूले पनि अघि नै भनिसक्नुभएको छ । हामी अब लगानीका नयाँ क्षेत्रमा जाने भनिरहेका छौँ। अघि कार्यकारी निर्देशकज्यूले पनि नयाँ ढंगले लगानी विस्तार गर्नुपर्ने कुरा बताइसक्नुभएको छ । तर त्यसका लागि हामीसँग स्पष्ट नीति बनेको छ कि छैन भन्ने मेरो चासो हो । अहिले कोषको रकम ३५७ अर्ब रुपैयाँ छ भन्नुभएको थियो । यति ठूलो रकम भइसकेपछि त्यसलाई परिचालन गर्दा स्पष्ट नीति बनाएर अगाडि बढ्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले नागरिक लगानी कोषलाई पुँजी निर्माण र पुँजी परिचालन दुवैको महत्वपूर्ण माध्यम बनाउनुपर्ने बताउनुभयो । कोषले कृषि, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले लगानी गर्दा जोखिम न्युनिकरण र जोखिमका कारकहरूको व्यवस्थापन आवश्यक भए पनि जोखिम व्यवस्थापनकै नाममा लगानी गर्नै नसक्ने अवस्था सिर्जना हुन नहुने बताउनुभयो ।
सबै रकम बैंकमै राखेर लगानी विस्तारको उद्देश्य पूरा नहुने उहाँको भनाइ छ । खड्काले कोषले ठूला पूर्वाधार आयोजनामा समेत लगानी विस्तार गर्नुपर्ने उल्लेख गर्दै अपर तामाकोशीमा भएको लगानीको उदाहरण प्रश्तुत गर्नुभयो । लगानी विस्तार गर्दा सम्भावित जोखिम र प्रतिफल दुवैलाई ध्यानमा राख्नुपर्नेमा उहाँको जोड छ ।
सांसद खड्काले भन्नुभयो,‘नागरिक लगानी कोष पुँजी निर्माण र पुँजी परिचालन (क्रेडिट क्रिएशन र क्रेडिट डिप्लोइमेन्ट) दुवैका लागि अत्यन्त महत्वपूर्ण माध्यम बन्नुपर्छ । बन्नसक्छ भन्ने मात्र होइन, यो बन्नैपर्छ । हामीजस्ता नीतिनिर्माताले पनि नागरिक लगानी कोषलाई त्यही दृष्टिकोणबाट हेरेका छौँ । त्यसका लागि कृषि, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा कसरी लगानी विस्तार गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ । लगानी गर्दा जोखिमलाई कसरी न्युनिकरण गर्ने र जोखिमका कारकहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । तर जोखिम व्यवस्थापनका नाममा हामी अत्याधिक शतर्क भएर लगानी नै नगर्ने अवस्थामा पुग्नुहुँदैन । सबै रकम बैंकमै राख्ने हो भने लगानी विस्तारको उद्देश्य पूरा हुँदैन । अघि निर्देशकज्यूले पनि अपर तामाकोसीमा जम्मा २८ अर्ब रुपैयाँ मात्रै लगानी भएको बताउनुभएको थियो । दुवै लगानीको अवस्था त्यस्तै रहेछ । अपर तामाकोसीको अवस्था राम्रो छ । अहिले सकारात्मक अवस्थामा गएको छ, होइनरु यसपटक चाहिँ ठीक छ । ’
नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नागरिक लगानी कोषमा वचतकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताउनुभयो । सञ्चालक समिति गठन गर्दा आफ्नो आवश्यकतामा कटौती गरेर समेत वचत गर्ने योगदानकर्ताको तर्फबाट कम्तीमा एक जना प्रतिनिधि समावेश गर्नुपर्ने उहाँको प्रश्ताव छ ।
उहाँले परियोजनामा लगानी गर्दा वचतकर्ता तथा लगानीकर्ताले पाउने प्रतिफल कसरी गणना गर्ने, परियोजनाबाट प्राप्त नाफाको बाँडफाँट कसरी गर्ने र प्रतिफलको समयसीमा के हुने भन्ने विषय ऐनमै स्पष्ट पार्नुपर्ने बताउनुभयो । केरुङले राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रमा लगानीलाई पहिलो प्राथमिकता दिनुपर्ने भएपनि त्यस्ता परियोजना छनोट गर्ने आधार र प्रक्रिया स्पष्ट हुनुपर्ने बताउनुभयो । परियोजना छनोटमा बिचौलियाको प्रभाव र अन्य विकृति प्रवेश गर्न नदिन पारदर्शी प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले योगदानकर्ताले आफ्नो बचत कहाँ लगानी भएको छ, त्यसबाट कति प्रतिफल प्राप्त भएको छ र लगानीमा कति जोखिम छ भन्ने जानकारी अनलाइनबाटै प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरणमार्फत आफ्नो वचत र लगानीको अवस्थाबारे जानकारी लिनसक्ने प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नागरिकको पसिनाबाट संकलित रकम भएकाले त्यसको परिचालनमा सरकार र कोष व्यवस्थापन दुवै पक्ष जिम्मेवार र पारदर्शी हुनुपर्ने केरुङको भनाइ छ ।
सांसद केरुङले भन्नुभयो,‘ नेपालको बजार र अर्थतन्त्रमा आफ्नै गोजीको पैसा अर्थात निजी पुँजी लगानी गरेर बजार विकास र अर्थतन्त्रको विस्तार गर्ने पक्षमा यहाँका लगानीकर्ताहरू किन आकर्षित भइरहेका छैनन् भन्ने विषयलाई हामीले प्रमुख रूपमा हेर्नुपर्छ होला । अहिले सर्वशक्तिमान र चक्रवर्ती शासन स्वरूपकै सरकार छ । यस्तो परिस्थितिमा त जे पनि गर्न सकिने र हुनुपर्ने हो भन्ने लाग्छ । तर किन यस्तो भइरहेको छैन भन्ने विषयको मनोविज्ञानसम्म पुग्न पनि म सभापतिज्यूमार्फत आग्रह गर्न चाहन्छु । नागरिक लगानीसम्बन्धि विधेयक प्रस्ताव अत्यन्तै राम्रो छ । यहाँ वचतकर्ता र सञ्चालक समितिको विषयमा पनि अघि कुरा उठेको छ । सञ्चालक समिति गठन गर्दा आफ्नो आवश्यकतामा कटौती गरेर समेत बचत गर्ने बचतकर्ताहरूको तर्फबाट कम्तीमा एक जना प्रतिनिधि सञ्चालक समितिमा समावेश हुनुपर्छ भन्ने मेरो आग्रह छ । त्यसैगरी, परियोजनामा लगानी गर्दा लगानीकर्ता र बचतकर्तालाई दिइने प्रतिफल कसरी गणना हुन्छ, परियोजनाबाट कति नाफा प्राप्त भयो र त्यसबाट बचतकर्ता तथा लगानीकर्ताले कति प्रतिफल पाउँछन् भन्ने विषय पनि स्पष्ट हुनुपर्छ । त्यसको समयसीमा कसरी निर्धारण गर्ने भन्ने व्यवस्था पनि ऐनमै समेटेर जाँदा राम्रो हुन्छ भन्ने मलाई लाग्छ । अर्को कुरा, राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गर्नु हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । तर, त्यस्ता परियोजना छनोट गर्ने आधार के हुने भन्ने कुरा पनि ऐनमै स्पष्ट पारिनुपर्छ । अहिले निकै चर्चामा रहेको बिचौलियाको प्रभाव त्यहाँ पनि पर्नसक्छ । त्यसैले परियोजना छनोट प्रक्रियामा त्यस्तो प्रभाव वा विकृति प्रवेश गर्न नदिन हामी चनाखो हुनुपर्छ भन्ने मलाई लाग्छ । अर्को महत्त्वपूर्ण विषय योगदानकर्ताको सूचना पहुँचसँग सम्बन्धित छ । योगदानकर्ताले आफ्नो बचत कहाँ लगानी भएको छ, त्यसबाट कति प्रतिफल प्राप्त भएको छ र त्यसमा जोखिमको स्तर कति छ भन्ने जानकारी अनलाइनमार्फत नै हेर्न पाउने व्यवस्था गर्नुपर्छ । आफ्नै मोबाइल, ल्यापटप वा अन्य विद्युतीय उपकरणबाट यी विवरण हेर्नसक्ने प्रणाली विकास गर्न हामीले प्राविधिक तथा व्यवस्थापकीय पक्षमा पनि ध्यान दिनुपर्छ । जे होस्, नागरिकको पसिनाबाट नागरिक लगानी कोषको परिकल्पना गरिएको हो । त्यसैले नागरिकबाट संकलित रकमलाई सरकारले र कोषको व्यवस्थापनले अत्यन्तै पारदर्शी ढंगले परिचालन गर्नुपर्छ ।’
सैद्धान्तिक छलफलपछि अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले नागरिक लगानी कोषबाट सम्पादित कामकारबाही, कोष सञ्चालनको अवस्था, लगानी तथा प्रतिफलको स्थिति, भावी कार्ययोजना, समस्या र सुधारका क्षेत्रबारे आगामी मंसिर १० गते समितिमा प्रश्तुतीकरण गर्न कोषका कार्यकारी निर्देशकलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो,‘नागरिक लगानी कोषबाट सम्पादित कामकारबाही, कोष सञ्चालनको अवस्था, लगानी र प्रतिफलको स्थिति र भावी कार्ययोजना तथा समस्या र सुधारका क्षेत्र सम्बन्धमा २०८३ मङ्सिर १० गतेको बैठकमा समितिमा प्रश्तुतीकरण गर्न नागरिक लगानी कोषका कार्यकारी निर्देशकलाई निर्देशन दिने निर्णयका साथ भोलि १० बजे ११ बजे बैठक बस्ने गरी यो बैठक यही अन्त्य भएको घोषणा गर्दछु ।’
समितिको आगामी बैठक बिहीवार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभापति बुढाथोकीले जानकारी दिनुभयो ।






प्रतिक्रिया दिनुहोस्