Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


महाकाली र जगबुडा नदीमा लाइभ सर्भिलेन्स प्रणाली जडान


0
Shares

प्रकाश भट्ट, कञ्चनपुर । बाढीको जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन दोधारा चाँदनी नगरपालिकाले महाकाली र जोगबुडा नदीमा प्रत्यक्ष निगरानी प्रणाली जडान गरेको छ।

नगरपालिकाले दुवै नदीको अवस्था चौबीसै घण्टा अवलोकन गर्न सकिने गरी ३६० डिग्रीमा घुमाएर दृश्य लिन मिल्ने क्यामेरा जडान गरेको हो। यससँगै अब नगरपालिकाले कार्यालयमै बसेर नदीको पानीको सतह, बहाव र आसपासको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछ।

नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन शाखा प्रमुख अमृत विकका अनुसार क्यामेराबाट नदीको अवस्थासँगै निर्धारण गरिएको कलर कोडिङका आधारमा सम्भावित जोखिमसमेत पहिचान गर्न सकिनेछ।

भोटेकोशीमा आएको बाढीपछि पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय बनाउन प्रत्यक्ष निगरानी प्रविधि जडान गरिएको विकले बताए।

नगरपालिकाले उक्त प्रणालीलाई जल तथा मौसम विज्ञान विभागसँग जोड्ने तयारीसमेत गरेको छ। विभागसँग समन्वय भएपछि वेबसाइटमार्फत सर्वसाधारणले पनि दुवै नदीको अवस्था प्रत्यक्ष हेर्न सक्नेछन्।

महाकाली र जोगबुडा नदीमा आउने बाढीका कारण दोधारा चाँदनीका विभिन्न बस्ती हरेक वर्ष डुबानको जोखिममा पर्दै आएका छन्। युनिसेफलगायत दातृ निकायको सहयोगमा स्थापना गरिएको यो प्रणालीले बाढीको पूर्वानुमान, समयमै सूचना प्रवाह र सम्भावित क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Skip This