Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


राष्ट्रिय भेलामा सहभागी एमाले नेता कार्यकर्ताको एउटै आवाजः ‘स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरि लाग्छौँ’


0
Shares

काठमाडौ ।

पार्टी नेतृत्वको कार्यशैलीमा असन्तुष्टी कायमै

नेकपा एमालेले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी नेता कार्यकर्ताहरुले पार्टीको गुमेको साखलाई फेरि उकास्नेगरि लाग्ने बताएका छन् ।

आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाएर गुमेको विरासत फिर्ता ल्याउने उनीहरुको दाबी छ । पार्टीलाई पहिलो बनाउन संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध सुधार, समयमै उम्मेदवार छनोट र स्थानीय आवश्यकताअनुसार घोषणापत्र निर्माणलाई प्राथमिकता दिनुपर्ने उनीहरुको भनाई छ ।

एमाले निकट युवा संघका अध्यक्ष महाराज गुरुङले विगतका निर्वाचनमा भएका कमजोरीलाई सच्याएर आगामी निर्वाचनमा अगाडी बढ्नेगरि लाग्ने बताउनुभयो । स्थानिय निर्वाचनमा ७५३ वटै स्थानीय तहको आवश्यकता र समस्यालाई सम्बोधन गर्ने गरी स्थानीयस्तरबाटै घोषणापत्र निर्माण गर्ने उहाँले जानकारी दिनुभयो ।

वातावरणीय प्रभावका कारण हुने बाढीपहिरो तथा अन्य विपद्को जोखिम व्यवस्थापन, स्थानीय कृषि क्षेत्रको विकास, नमुना गाउँपालिका तथा नगरपालिका निर्माण र जनताको समस्या समाधान गर्नसक्ने नेतृत्व विकासलाई एमालेको चुनावी प्राथमिकता बनाउनुपर्ने उहाँको भनाई छ ।

विगतको निर्वाचनमा उम्मेदवार छनोटमा कमजोरी भएका कारण पनि पराजय व्यहोर्नुपरेको उहाँले बताउनुभयो । यसपटक स्थानीय कार्यकर्ता र संगठित सदस्यकै सहभागितामा उम्मेदवार छनोट गर्ने तथा विगतभन्दा कम्तीमा एक महिनाअघि नै उम्मेदवार टुंग्याउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले घोषणापत्र ७५३ वटै स्थानीय तहमा स्थानीयस्तबाट नै जनताको मन छुने खालको, जनतालाई जहाँ समस्या छ त्यहाँ समस्या समाधान गर्नेगरि बनाउँछौँ । नमूना गाउँपालिकाहरू कसरी बनाउन सकिन्छ, नमूना नगरपालिकाहरू कसरी बनाउन सकिन्छ भन्ने त्यो योजनाका साथ हामी गाउँपालिकामा जान्छौँ, वडावडामा जान्छौँ, जनताको बीचमा जान्छौँ र हामी जुन ढंगले नेकपा एमालेको विरासत हो हिजोका दिनमा, त्यो विरासतभन्दा अझ राम्रो, अझ त्योभन्दा उपस्थिति प्रभावकारी बनाउने ढंगले हामी नेकपा एमालेको स्थानीय निर्वाचनमा हामी विन गर्ने तरिकाले हामी जान्छौँ । जहाँ उम्मेदवारहरू लोकल लेभलमै, जनताको लेभलमै, कार्यकर्ताहरूको लेभलमै घुलमिल भएका उम्मेदवारलाई भन्दा हामीले अलि बाहिरबाट उम्मेदवारहरू पठाउँदाखेरि पनि हाम्रो समस्या भएको छ, हाम्रो पराजित हुन पुगेको छ । त्यस्तो खालको परिस्थितिहरू पनि छन्, तर हामीले यसलाई ख्याल गरेर लोकल लेभलमै, वडा तहको वडा अध्यक्ष को बनाउने, वडा सदस्य को बनाउने भन्ने कुरा हाम्रो कार्यकर्ताहरूले, हाम्रो संगठित सदस्यले त्यहीँ सेलेक्सन गर्ने र यी जनताको बीचमा जाने यस्तो खालको हाम्रो मोडालिटी यसपालि निर्माण गर्छौँ । विगतमा हामीले उम्मेदवारी छनोटहरूमा अलिकति ढिला उम्मेदवारीहरू पनि हामीले छनोट गर्यौँ, अलिकति चाँडै एक महिना अगाडी नै उम्मेदवारीहरू छनोट गरेर जनताको बीचमा पुर्‍याउन सक्यौँ भने निर्वाचनमा सोचेजस्तो परिणाम हासिल गर्न सक्छौ ।’

एमाले नेतृ एवं पूर्वसांसद नविना लामाले आगामी निर्वाचनमा पार्टीको जितका लागि संगठनात्मक संरचनालाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । साथै योग्य र जनतामाझ लोकप्रिय उम्मेदवार छनोट गर्नुपर्ने उहाँको भनाई छ । विगतमा पार्टीले जनविश्वास गुमाएको विषयलाई गम्भीर रूपमा समीक्षा गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।

उम्मेदवार छनोटमा व्यक्तिगत स्वार्थ, पक्षपात र आर्थिक चलखेल हुन नहुनेमा उहाँले जोड दिनुभयो । कमिटी प्रणालीमार्फत जनतामा लोकप्रिय तथा सामाजिक रूपमा स्थापित व्यक्तिलाई उम्मेदवार बनाउन उहाँले पार्टी नेतृत्वलाई सुझाव दिनुभयो । युवा पुस्ता र नयाँ अनुहारलाई अवसर दिन पनि उम्मेदवार छनोट प्रक्रियामा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले जनताको विश्वास जित्ने पार्टी हो । यसको वडादेखि लिएर सबै टोलसम्ममा कमिटीहरू विस्तारित रूपमा सुदृढ छ । तर यो कमिटीलाई व्यवस्थित बनाएर फेरि नेकपा एमालेले राम्रो उम्मेदवारहरू र असल उम्मेदवारहरूलाई टिकट दियो भने मलाई लाग्छ नेकपा एमाले आगामी निर्वाचनमा हिजोको इतिहासको विरासतलाई कायम गर्न सक्छ । मुख्य कुरा नेतृत्व पंक्तिले त्यसको बारेमा बुझनुपर्छ । आम रूपमा कार्यकर्ता र नेताहरूले त बुझेकै छ । नेतृत्वले इतिहासमा फेरि पनि चाहीँ यस्तो दुर्घटनाहरू नहोस् भनेर सोच्नुपर्छ । नेकपा एमालेको जीवनमा सबैभन्दा ठुलो एउटा जनविश्वास गुमेको छ । जनताबाट एकदमै वितृष्णा जागेको छ । हाम्रो लागि एउटा दुःखको क्षण, निरासको क्षणहरू यो भन्दा हरु हुन सक्दैन । उम्मेदवार छनोटमा एकदम ध्यान दिनुपर्छ । आज व्यक्ति हेर्ने, व्यक्तिको व्यक्तित्व हेर्ने, अनि त्यसपछि व्यक्तिको गुण र दोष हेर्ने, हाम्रो जस्तो पार्टीभित्रको आन्तरिक जीवनमा नेतृत्व कस्तो बनाउने भन्ने कुराको गहन विश्लेषण त हुन्छ तर यस्तो टिकट दिने सन्दर्भमा यसको कुरा सबै भुलिन्छ र टिकट आफैँमा पनि बीचमा किनबेच हुन्छ र आफ्नो स्वार्थमा, पक्ष र विपक्षमा चाहिँ यो बाँड्ने चलन छ । त्यसले गर्दा यो कुरालाई तोड्नु जरुरी छ ।’

एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले स्थानीय तहमा एमालेका जनप्रतिनिधिले गरेका कामले पनि आगामी निर्वाचनमा जित्न सहज हुने बताउनुभयो । प्रतिनिधिसभाको निर्वाचनमा आवेश र आक्रोशको वातावरणका कारण पार्टीले गरेका काम र उपलब्धि जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन नसकेको उहाँको भनाई छ ।

नेतृत्व र कार्यकर्ताबीचको दूरी घटाउँदै जनतासँगको सम्बन्ध पुनःस्थापित गर्ने गरी पार्टी अघि बढ्ने उहाँको भनाइ छ । आगामी निर्वाचनमा युवाहरूलाई उम्मेदवार बनाउने पार्टीको नीति रहेको उहाँले बताउनुभयो । पार्टीभित्र रहेका मतभेदहरुलाई हटाउँदै आगामी निर्वाचनमा एकजुट भएर लाग्ने उहाँको भनाई छ । विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने काम एमाले बाहेक अरुले गर्न नसक्ने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘वर्तमान क्रियाशील रहेका स्थानीय तहमा नेकपा एमालेले तुलनात्मक रुपमा उत्कृष्ट भूमिका निर्वाह गरेका छन् भन्ने एउटा हाम्रो आधार र विश्वास हो । नेकपा एमालेको जुन संगठनात्मक संरचना छ, बीचमा घटनाक्रमले गर्दा केही शिथिलता केही निष्क्रियता केही आलोचनाहरू हामीले व्यहोर्नुपर्‍यो । त्यो स्वाभाविक रूपमा रहेका थिए । ती सबै कुराहरूलाई क्रमशः आज खण्डित गर्ने ठाउँमा समयक्रमले नै पुष्टि गरेको छ । हामी यो आउने निर्वाचनमा विगतको भन्दा सर्वश्रेष्ठता हासिल गर्न सक्छौँ । अघिल्लो निर्वाचन एउटा आवेश र आक्रोशको बीचमा सम्पन्न भएको थियो जुन आवेश र आक्रोशको बेलामा हामीले हाम्रा कुरालाई सुव्यवस्थित ढंगले राख्न सकेनौ । त्यो भिडमा हामी पर्यौ जसका कारणले एउटा खालको नकारात्मक परिणाम हाम्रा लागि पनि प्राप्त भयो । आज परिस्थिति परिवर्तन भएको छ । हिजो हामीले गरेका कामका बारेमा आज मान्छेले सम्झनुपर्ने, स्मरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।’

एमाले नेता गणेश पहाडीले राष्ट्रिय भेलाले पार्टीभित्र देखिएको बुझाइको विविधतालाई एकरूपता दिँदै स्थानीय निर्वाचनको तयारी लागी मार्ग तय गरेको बताउनुभयो । आफूहरु भेलाको रणनितिअनुसार नै निर्वाचनमा खटिने बताउनुभयो । पार्टी सञ्चालनमा केही कमी कमजोरी भएपनि स्थानिय तहमा रहेका जनप्रतिनिधिले गरेका कामका आधारमा आगामी निर्वाचन पनि सहजै जित्ने उहाँको दाबी छ ।

उहाँले विगतमा आदेश र निर्देशनका आधारमा पार्टी सञ्चालन गर्ने प्रवृत्तिले भने केही समस्या उत्पन्न गराएको बताउनुभयो । पार्टीलाई सामूहिक नेतृत्व र छलफलको प्रणालीमा फर्काउनुपर्ने उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले हिजो सरकारमा बस्दाखेरि गरेका राष्ट्र र जनताको पक्षमा गरेका जुन कामहरू छन्, नेकपा एमालेले निर्वाचन जित्ने सबैभन्दा मुख्य आधार नै त्यही हो ।स्थानीय तहमा एमालेको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले गरेका कामहरू छन्, त्यसको आधारमा नेकपा एमालेले आफूलाई त्यहाँ चाहिँ लोकप्रिय रूपमा उभ्याइरहेको छ र आउने निर्वाचनमा पनि आफूलाई जिताउने, आफ्नो पार्टीलाई जिताउने गरी त्यहाँका निर्वाचित जनप्रतिनिधिहरूले भूमिका खेलिरहनुभएको छ, काम गरिरहनुभएको छ । त्यसैलाई मेन आधार मानेर स्थानीय चुनावमा हामी जित्दैछौँ भनिरहेका छौँ । पार्टी सञ्चालनमा हामीभित्र धेरै कमी–कमजोरीहरू रहे, नरहेका होइनन् । राम्रा पक्ष, सकारात्मक पक्षहरू पनि त्यत्तिकै छन् । हामीसँग नकारात्मक पक्षहरू पनि त्यत्तिकै छन् । ती नकारात्मक पक्षबाट हामी पाठ सिकेर अब नयाँ ढङ्गले अगाडि बढ्दैछौँ । पार्टीलाई हामीले सामूहिकतामा चलाउनुपर्ने हो । हिजोका दिनहरूमा हामीले पार्टीलाई सामूहिकतामा चलाउन सकेनौँ । यो हाम्रो सबैभन्दा ठूलो कमजोरी हो । हाम्रो पार्टीको नेतृत्वले पार्टीलाई आदेशको भरमा, हुकुमको भरमा, फरमानको भरमा जुन पार्टी चलाउन खोज्यौँ। त्यो हाम्रो सबैभन्दा ठूलो गल्ती थियो । सबैभन्दा ठूलो हाम्रो कमजोरी थियो । अब यसलाई सुधार्नुपर्छ ।’

एमाले नेतृ टीका ढकालले पार्टीभित्र जनतासँगको भावनात्मक सम्बन्ध कमजोर भएको स्वीकार गर्दै त्यसलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले जनतासंग विग्रिएको सम्बन्धलाई सुधार गर्दै एमालेलाई पहिलो शक्तिको रुपमा विकास गर्ने दाबी गर्नुभयो । उहाँले देशलाई राजनीतिक तथा प्रशासनिक दुर्घटनाबाट जोगाउने क्षमता एमालेसँग मात्रै रहेको बताउनुभयो । बर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो ‘लोकतान्त्रिक पार्टी एमाले रहेछ भन्ने कुरा जनताले बिस्तारै बुझ्दै जानुभएको छ । नयाँले धेरै राम्रो गर्छ कि भन्ने खालको जनतामा एउटा भ्रम भएको थियो । तर त्यो भ्रम चिरिदै गएको छ । एमालेले चिनिरहनु पर्दैन । एमालेले आफ्ना कामलाई जनताको माझमा लैजानेछ । अहिलेको सरकार अनसिन रिमोटबाट चलेको हो । कहाँ गएर दुर्घटना हुन्छ थाहा छैन, तर देशलाई दुर्घटनाबाट बचाउने नेकपा एमालेले हो ।’

एमाले नेता कार्यकर्ताहरुले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट रहेको बताएपनि पार्टी नेतृत्वप्रति असन्तुष्टी जनाएका छन् । पार्टी नेतृत्वले गर्ने निर्णय सामुहिक नभएको उनीहरुको गुनासो छ ।

पार्टी नेतृत्वले कार्यशैली सुधार नगरे जनविश्वास उठाउन कठिन हुने उनीहरुको भनाई छ ।

Skip This