सुबर्ण श्रेष्ठ, हेटौंडा । मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । प्रहरीले कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंसिर ३ गते राति १ः४० बजे त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका–२ भैंसेस्थित प्रहरी चेकपोस्टमा उक्त कार फेला परेको हो ।
थाहा नगरपालिकाको पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.अ.ब ४१३१ नम्बरको निलो कारलाई प्रहरीले नियमित जाँचका लागि रोकेको थियो । तर प्रहरीलाई देख्नेबित्तिकै चालक गाडीबाट ओर्लिएर अँध्यारोको मौका छोप्दै फरार भएका थिए ।
चालक फरार भएपछि शंका लागेर प्रहरीले कारको खानतलासी गर्दा डिक्कीभित्र लुकाएर राखिएका नौ वटा पोकामा गाँजा फेला परेको थियो । त्यसपछि प्रहरीले गाँजासहित कार नियन्त्रणमा लिएको हो ।
फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्