Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


महादेवटार सुरुङको आज ब्रेकथ्रु हुँदै


0
Shares

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत निर्माणाधीन महादेवटार सुरुङमार्गको ब्रेकथ्रु आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुँदैछ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको द्रुतमार्गको सुरुङ निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको अवसरमा महादेवटारमा विशेष समारोह आयोजना गरिएको हो। प्रस्तावित कार्यक्रमअनुसार राष्ट्रपति पौडेलले आज बिहान काठमाडौं–तराई/मधेश द्रुतमार्गको हवाई निरीक्षण गरी महादेवटार पुग्ने कार्यक्रम छ।

काठमाडौं–तराईरमधेश द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको रणनीतिक आयोजना हो। राजधानी काठमाडौंलाई तराई–मधेशसँग छोटो दूरीमा जोड्ने लक्ष्य राखिएको यस आयोजनामा सुरुङ, पुल र सडक संरचनाको निर्माण भइरहेको छ। आयोजनाअन्तर्गत सुरुङ निर्माणसँगै पुल, सडकको सबग्रेड तथा पेभमेन्ट, प्रकाश व्यवस्था, विद्युतीय तथा यान्त्रिक उपकरण जडान र ट्राफिक सुरक्षा प्रणाली निर्माणका काम भइरहेका छन्।

महादेवटार सुरुङको ब्रेकथ्रु उपलब्धिले नेपालको आधुनिक पूर्वाधार निर्माण तथा सुरुङ प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराईबीचको यात्रा अवधि उल्लेख्य रूपमा घट्ने, यातायात आवागमन सहज हुने तथा व्यापार, पर्यटन र आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको छ।

यो आयोजनाको लम्बाई करिब ४.३४५ किलोमिटर रहेको छ ।

Skip This