Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


रौतहटमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते


0
Shares

सञ्जय कार्की, रौतहट । रौतहटमा चार जना सवार स्कुटर दुर्घटना हुँदा दुई भारतीय किशोरको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

सोमबार साँझ राजदेवी नगरपालिका–१ मोतिपुरस्थित सडकमा स्कुटर अनियन्त्रित भएर पुलमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा भारतको सीतामढी जिल्ला भकुरहरका १६ वर्षीय प्रिन्स पासवान र जमुवा टोलका १८ वर्षीय अनिकेत पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

स्कुटरमा सवार भारतको सीतामढी भकुरहरका १७ वर्षीय सुनिल पासवान र रौतहटको यमुनामाई नगरपालिका–५ झुनखुनवाका १५ वर्षीय आकाश पासवान घाइते भएका छन्।

प्रहरीका अनुसार मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो। क्षमताभन्दा बढी यात्रु सवार रहेको स्कुटर आफैँ अनियन्त्रित भई पुलमा ठोक्किएको प्रारम्भिक विवरण छ।

घाइते दुवैको टाउको, हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूको प्रादेशिक अस्पताल गौर र वीरगञ्जमा उपचार भइरहेको जनाइएको छ।

Skip This