वीरबहादुर बम, मुगु । मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
आइतबार छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा सडक खण्डमा बा १७ च १८६४ नम्बरको हाइलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र उनकी श्रीमती अन्जु थापालाई सोमबार बिहान सेनाको हेलिकोप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सुर्खेत पुर्याइएका दुवै जनालाई थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परी काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो । उनीहरू रारा ताल घुम्नका लागि मुगु पुगेका थिए ।









प्रतिक्रिया दिनुहोस्