काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजमाथि २४ रनको जित निकालेको छ । प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलेको कर्णालीले जितसहित यात्रा टुंग्याएको हो । तर, यस जितले कर्णालीलाई प्लेअफसम्म पुर्याउन सकेन । चितवन भने यसअघि नै प्लेअफमा पुगिसकेको छ ।
कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९।१ ओभरमा १२९ रनमै समेटियो ।
चितवनका उसामा मीरले अविजित २८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । कामिल मिश्राले २५, कुशल मल्लले १८ र देव खनालले १४ रन जोडे ।
कर्णालीको जितमा हुसैन तलातले सर्वाधिक तीन विकेट लिए । पवन सर्राफ र मार्क वाटले समान दुई विकेट झारे भने सोमपाल कामीले एक विकेट आफ्नो नाममा गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
कर्णालीका हुसैन तलातले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे । अरिफुल इस्लामले ३५, गुलशन झाले १८ र पवन सर्राफले १५ रनको योगदान दिए ।
चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले समान दुई विकेट लिए । सिकन्दर रजा र रिजन ढकालले एक–एक विकेट हात पारे ।









प्रतिक्रिया दिनुहोस्