काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्ससामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको हो।
विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रन जोडे। उनले ४३ बलको सामना गर्दै ६ छक्का र एक चौका प्रहार गरे। शुभम रन्जाने ३१ रनमा अविजित रहे भने इमरान शेखले २४ र लोकेश बमले १५ रन बनाए। २४ रन बनाएका शेख रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए।
लुम्बिनीका किशोर महतोले दुई विकेट लिए। अभिशेष गौतम र रुवेन ट्रम्पलमानको नाममा एक–एक विकेट रह्यो।
प्लेअफमा पुग्ने सम्भावना कायम राख्न विराटनगरका लागि आजको खेल जित्नैपर्ने दबाब छ। यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी भने जितको लक्ष्यसहित मैदानमा उत्रिएको छ।









प्रतिक्रिया दिनुहोस्