Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


नेपाल संवत आन्दोलनका उपलब्धि नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छः मन्त्री श्रेष्ठ


0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले नेपाल संवत र नेवाः संस्कृति संरक्षणका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

नेपाल संवत ११४७ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अग्रज अभियन्ताहरूले लामो संघर्षबाट स्थापित गरेका उपलब्धिको संरक्षण र पुस्तान्तरण अहिलेको पुस्ताको दायित्व भएको बताउनुभयो । मन्त्री श्रेष्ठले नेपाल संवत आन्दोलनका क्रममा उठाइएका मागमध्ये नेवाः विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढ्नु, नयाँ नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने सरकारी प्रतिवद्धता आउनु र आकाश भैरवको तस्बिर नोटमा समावेश गर्ने प्रक्रिया अघि बढ्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल संवत् तथा नेवाः संस्कृति संरक्षणका लागि लामो समयदेखि संघर्ष गर्दै आएका पद्मरत्न तुलाधरलगायत अग्रज अभियन्ताहरूको योगदान स्मरण गर्दै उनीहरूले सुरु गरेको अभियानलाई नयाँ पुस्ताले निरन्तरता दिनुपर्ने बताउनुभयो।

श्रेष्ठले अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी विधेयक निर्माण गर्दा सम्बन्धित समुदाय र अभियन्ताहरूको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दनिुभयो । विधेयक कस्तो बन्नुपर्छ भन्ने विषयमा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल संवत् र नेवाः संस्कृति कुनै एक समुदायमा मात्र सीमित नरहेको भन्दै उहाँले यसको संरक्षणलाई विश्वव्यापी अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । नयाँ पुस्तालाई भाषा, संस्कृति, परम्परा र बाजागाजाप्रति आकर्षित गर्न सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

नेपाल संवत् र शङ्खधर साख्वाःको योगदानलाई भावी पुस्ताले समेत स्मरण गर्ने वातावरण बनाउन सबै पुस्ताबीच सहकार्य आवश्यक रहेको मन्त्री श्रेष्ठले बताउनुभयो।

Skip This