काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार जारी खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजसामु १८१ रनको लक्ष्य राखेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १८० रन जोडेको हो।
काठमाडौंको इनिङ्समा राशिद खानले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे। उनले ३० बलमा २ चौका र ४ छक्काको मद्दतले ५२ रन बनाए।
यस्तै, सहान अराचिगेले ३३, विलियम बोसिस्टोले २७ तथा करण केसीले २० रनको योगदान दिए। अन्तिमतिर क्रिजमा आएका सन्तोष यादवले दुई बलमै ८ रन जोडेपछि काठमाडौंले चुनौतीपूर्ण योगफल तयार पारेको हो।
चितवनका बलरमध्ये रिजन ढकालले सर्वाधिक तीन विकेट लिए। कमल ऐरी र सिकन्दर राजाले दुई–दुई विकेट हात पार्दा डान माउज्लीको नाममा एक विकेट रह्यो।









प्रतिक्रिया दिनुहोस्