काठमाडौँ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन विशेष व्यवस्था गरेको छ ।
पर्वका बेला हुन सक्ने विद्युत् अवरोध रोक्न प्राधिकरणले उत्पादनदेखि प्रसारण र वितरण प्रणालीसम्मको निगरानी तथा मर्मतसम्भारलाई तीव्रता दिएको जनाएको छ । सेवा प्रभावित हुन नदिन प्राविधिक कर्मचारीलाई २४ घण्टा तयारी अवस्थामा राखिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले चाडपर्व अवधिमा विद्युत् सेवा अवरुद्ध भए तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । उनले प्रसारण लाइन तथा वितरण प्रणालीको नियमित निरीक्षण गर्न र विद्युत्सम्बन्धी उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्नसमेत आग्रह गरेका छन् ।
त्यसैगरी, नो लाइट सेवामा आउने फोन नियमित उठाउन र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।
प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ । तर, सोही अवधिमा आन्तरिक उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण रहेकाले मागअनुसार विद्युत् आपूर्तिमा कुनै समस्या नहुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्