Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ १७ मंसिरदेखि काठमाडौंमा हुने


65
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना गर्ने भएको छ ।

आईतवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको गर्दै महासंघले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष अन्जन श्रेष्ठले मुलुकमा व्यापार विस्तार, लगानी आकर्षण, निर्यात प्रवद्र्धन र व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यापार मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानसहित विभिन्न देशका व्यवसायीलाई आमन्त्रण गरिएको छ । उहाँले मेलामा स्वदेशी तथा विदेशी हस्तकला, कृषि उत्पादन, पर्यटन, सूचना प्रविधि, ऊर्जा, भवन तथा निर्माण सामग्री, व्यावसायिक सूचना र शिक्षासम्बन्धी छुट्टाछुट्टै २ सय वटा स्टल राखिने जानकारी दिनुभयो । उहाँले यस वर्ष मेलामा स्वदेशी तथा विदेशी गरी करिब एक लाख अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको समेत बताउनुभयो ।

उहाँले नेपालका विभिन्न जिल्लामा आयोजना भएका व्यापार मेलाका उत्कृष्ट स्टल तथा उत्पादनलाई समेत अन्तर्राष्ट्रिय व्यापार मेलामा निःशुल्क स्टल उपलब्ध गराइने जानकारी दिनुभयो । मेलाको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायी तथा खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य राखिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नुका साथै नेपाल व्यापार एकीकरण रणनीतिमा विशेष रूपमा पहिचान गरिएका वस्तुको उत्पादन तथा निर्यात वृद्धि गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘व्यापार विस्तार, लगानी आकर्षण, निर्यात प्रवद्र्धन र व्यवसायिक सम्बन्ध विकास गर्न उद्देश्यले गरेको हामीले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्दै आएका छौँ । मेलाका विगतका संस्करणहरुले विदेशी उत्पादनको आयात र स्वदेशी उत्पादनको निर्यातमा एकदमै सहजता प्रदान गरेको हामीले पाएका छौँ । यस पटकको मेलामा २ सयभन्दा बढी स्टल मार्फत स्वदेशी तथा विदेशी वस्तुको प्रदर्शनी गरिनेछ । मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटान लगायतका देशहरु सहभागी हुनेछन् । मेलाको करिब १ लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ताले अवलोकन गर्ने हामीले अपेक्षा गरेका छौँ ।

सुस्त बजारमा नयाँ व्यापारिक गतिविधि र आर्थिक उर्जा सिर्जना गर्ने अवसरको रुपमा हामीले यो मेलालाई लिएका छौँ । उत्पादन, क्रेता, बिक्रेता, आयातकर्ता र निर्यातकर्ताबीच प्रत्यक्ष सम्पर्क र कारोबार हुने भएकोले भविष्यमा नेपाल लगायत विभिन्न मुलुकसँग हुन सक्ने व्यापार विविधीकरण गर्ने, व्यापार बढाउने काममा यसले सहयोग गर्ने हाम्रो विश्वास छ । साना, मझौला र घरेलु उद्योगको उत्पादनलाई नयाँ बजार, उपभोक्तासँग चिनाउने एउटा माध्यमको रुपमा समेत यो व्यापार मेला अगाडि बढ्ने हाम्रो विश्वास छ । व्यापारिक कारोबार, उत्पादन, रोजगारी र आर्थिक पुनरुत्थानमा पनि केही योगदान हुन्छ समेत यो व्यापारिक मेलाले सहयोग गर्ने हाम्रो विश्वास लिएका छौँ ।’

नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्र विकासमा मेलाले टेवा पुगाउने महासंघको विश्वास छ ।

Skip This