काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको छ ।
हिजो बिहान सवा १० बजेदेखि दिउँसो सवा २ बजेसम्म चलेको भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन पनि सहभागी थिए ।
सरकारी तथा रास्वपा स्रोतले भेटवार्ता भएको पुष्टि गरे पनि छलफलका विषयमा औपचारिक जानकारी दिएको छैन । स्रोतका अनुसार भेटमा संवेदनशील विषयमा साझा धारणा बनाउने, अध्यादेश, महत्वपूर्ण राजनीतिक नियुक्ति तथा प्रहरी नेतृत्वसँग सम्बन्धित विषयमा छलफल भएको हुनसक्ने बताइएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका विषयमा पनि दुई नेताबीच मतभेद रहेको स्रोतको दाबी छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि भएको छैन ।
भेटमा लामिछानेको हालैको भारत भ्रमण र प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणका विषयमा समेत कुराकानी भएको बताइएको छ ।
करिब दुई महिनापछि भएको दुई नेताबीचको यो भेटका कारण हिजो बस्ने तयारी गरिएको मन्त्रिपरिषद् बैठकसमेत आजका लागि सारिएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्