Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


श्रीलंकाका स्टार म्याथ्युजले विराटनगर किङ्सबाट एनपीएल खेल्ने


0
Shares

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उत्कृष्ट ब्याटिङ, उपयोगी मध्यम गतिका बलिङ र नेतृत्व क्षमताका लागि परिचित म्याथ्युजको आगमनले विराटनगर किंग्सको टोलीलाई थप अनुभवी र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

श्रीलंकाली क्रिकेटका स्थापित खेलाडी म्याथ्युजले आफ्नो करियरमा टेस्ट, एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा देशको प्रतिनिधित्व गरिसकेका छन्। मध्यक्रममा जिम्मेवारीपूर्वक ब्याटिङ गर्ने क्षमता, दबाबपूर्ण परिस्थितिमा खेल सम्हाल्ने कौशल र बलिङबाट समेत योगदान दिन सक्ने विशेषताका कारण उनी एक प्रभावशाली अलराउन्डरका रूपमा परिचित छन्।

सन् २००८ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट अन्तर्राष्ट्रिय करियर सुरु गरेका म्याथ्युजले श्रीलंकाको राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालिसकेका छन्। उनले सन् २०१४ मा श्रीलंकालाई इंग्ल्यान्डविरुद्ध ऐतिहासिक टेस्ट शृङ्खला जिताउन कप्तानका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सोही वर्ष उनी आईसीसीको एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा समेत पुगेका थिए। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा समेत ९० खेल खेलेका म्याथ्युजले १,४१६ रन र ४५ विकेट आफ्नो नाममा लेखाएका छन्।

सन् २०२२ को मे महिनामा उनले आईसीसी पुरुष प्लेयर अफ द मन्थको अवार्ड प्राप्त गरेका थिए। लामो अन्तर्राष्ट्रिय अनुभव र विभिन्न परिस्थितिमा खेल्न सक्ने क्षमताले उनलाई विराटनगर किंग्सका लागि महत्त्वपूर्ण खेलाडी बनाउने विश्वास गरिएको छ।

Skip This