Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


नेपाली गीत–संगीतको प्रतिष्ठित २३औँ इमेज अवार्ड आयोजना हुँदै ! (भिडियाे रिपोर्ट)


0
Shares

काठमाडौं ।
नेपाली गीत संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड इमेज अवार्डको २३औं संस्करण आयोजना हुने भएको छ । अवार्डमा सहभागी हुन चाहने सर्जक तथा कलाकारका लागि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ ।

२०८२ कार्तिक १ देखि २०८३ असोज मसान्तभित्र प्रसारण भएका गीत र म्युजिक भिडियोको लागि आवेदन खुला हुनेछ । संगीत तपाईंको जीवनको भन्ने नारासहित सञ्चालन हुँदै आएको इमेज अवार्ड पुनः शुरु हुने भएको छ ।

लगातार २२ वर्षसम्म गीत संगीत र सर्जकहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको ईमेज अवार्डको २३औ संस्करण यस पटक कामना इमेज ग्रुपले आयोजना गर्ने भएको हो । नेपाली गीतसंगीत क्षेत्रका सर्जक तथा कलाकारको योगदानको सम्मान गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित इमेज अवार्डको आवेदन असोज ३० गते शुक्रबारदेखि खुला गरिने भएको छ । गीतकार, संगीतकार, गायकगायिका, म्युजिक भिडियो निर्देशक तथा कलाकारलाई प्रोत्साहन र सम्मान गर्दै आएको अवार्डले नेपाली सांगीतिक क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ ।

दुई दशकभन्दा लामो इतिहास बोकेको इमेज अवार्ड नेपाली संगीत क्षेत्रका पुराना र प्रतिष्ठित पुरस्कार मध्ये एक हो । यसका अघिल्ला संस्करणमा गीत, संगीत, रचना, म्युजिक भिडियो र पब्लिक च्वाइससहित विभिन्न विधामा उत्कृष्ट सर्जक तथा कलाकारलाई पुरस्कृत गरिँदै आइएको थियो ।

अवार्डको अर्को महत्वपूर्ण पक्ष लाइफटाइम अचिभमेन्ट अवार्ड हो । पछिल्लो पटक २०७९ साल असोज ३ गते काठमाडौंको सोल्टी होटलमा इमेज अवार्डको २२औं संस्करण सम्पन्न भएको थियो ।

उक्त समारोहमा नेपाली हास्यव्यंग्य तथा संगीत क्षेत्रका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । सो संस्करणमा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको थियो । यसपटक सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट गीत रचना, सर्वोत्कृष्ट संगीत लगायत १७ विभिन्न १७ विधानमा अवार्ड वितरण गरिनेछ ।

अग्रज सर्जकको सम्मानसंगै नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनमा भूमिका खेल्दै आएको अवार्डको नयाँ संस्करणले नेपाली गीतसंगीत क्षेत्रका सर्जक तथा कलाकारलाई पुनः एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ ।