काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट प्राप्त अङ्कका आधारमा उत्कृष्ट तीन उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको हो।
मन्त्रालयले असोज २८ गते सार्वजनिक गरेको सूचनाअनुसार सिफारिसमा पर्नेमा तनहुँको भिमाद नगरपालिका–१ का डिल्लीराज लम्साल, सिरहाको विष्णुपुर गाउँपालिका–१ की संगिता यादव र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० का होमनाथ न्यौपाने रहेका छन्।
मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम गठित समितिले २०८३ असोज २२ गतेको निर्णयअनुसार तीन जनाको नाम सिफारिस गरेको जनाएको छ।
अब सिफारिसमा परेका तीन उम्मेदवारमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ।








प्रतिक्रिया दिनुहोस्