Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


घटस्थापनायता २ लाख ६२ हजारले छाडे काठमाडौँ उपत्यका


0
Shares

काठमाडौँ । बडादसैँ मनाउन आफ्नो घर फर्किने क्रम बढेसँगै काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या २ लाख ६२ हजार नाघेको छ। घटस्थापनादेखि बिहीबारसम्म २ लाख ६२ हजार ७५३ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त अवधिमा ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत यात्रु उपत्यकाबाहिर गएका हुन्। दसैँ नजिकिँदै जाँदा विभिन्न पेसा, व्यवसाय र अध्ययनका लागि उपत्यकामा बसोबास गर्दै आएका नागरिक घर फर्किन थालेपछि बसपार्क तथा प्रमुख नाकामा यात्रुको चाप बढेको छ।

उपत्यका छाड्ने यात्रुमध्ये १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ जना पुरुष रहेका छन्। चाडपर्व मनाउन गन्तव्यतर्फ जाने यात्रुको संख्या बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा पनि भीड बढ्न थालेको छ।

ट्राफिक प्रहरीका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यी नाकामा सवारीसाधनको आवागमन बढेपछि ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।

दसैँका लागि घर फर्किने यात्रुको चाप अझै बढ्न सक्ने भएकाले सार्वजनिक यातायात तथा सडकमा आवागमन व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।