माधव पोखरेल, उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दसैँ खर्च उपलब्ध गराएको छ। नगरपालिकाले २९ परिवारलाई प्रतिपरिवार ५ हजार रुपैयाँका दरले कुल १ लाख ४५ हजार रुपैयाँ वितरण गरेको हो।
नगरपालिकाले ‘वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आश्रित परिवारलाई सेवा तथा सुविधा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८३’ निर्माण गरी मंगलबार उक्त रकम वितरण गरेको जनाएको छ।
नगर प्रमुख कालुमान लामाले वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका नागरिकको आर्थिक अवस्था र पीडालाई मध्यनजर गर्दै स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने उद्देश्यले सहयोग उपलब्ध गराएको बताउनुभयो।
उहाँका अनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई लक्षित गरी नगरपालिकाले व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग गर्दै आएको छ। साथै, उनीहरूका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा र आधारभूत स्वास्थ्य उपचारका लागि कार्डमार्फत निःशुल्क उपचारको व्यवस्था गरिएको छ।
नगरपालिकाले विपन्न मुसहर समुदायका २२८ परिवारलाई समेत प्रतिपरिवार ३ हजार रुपैयाँका दरले दसैँ खर्च उपलब्ध गराएको नगर प्रमुख लामाले जानकारी दिनुभयो। चाडपर्वका बेला विपन्न तथा समस्यामा रहेका परिवारलाई राहत र खुसीको अनुभूति गराउने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ।
नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रोशनी कार्कीले उदयपुरमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका आश्रित परिवारलाई दसैँ खर्च उपलब्ध गराउने चौदण्डीगढी नगरपालिका पहिलो भएको बताउनुभयो। थोरै भए पनि आर्थिक सहयोगले पीडित परिवारलाई चाडपर्व मनाउन राहत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
कार्कीका अनुसार नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका महिलालाई उद्यम विकास कार्यक्रममा समावेश गरी आत्मनिर्भर बनाउन सहयोग गर्दै आएको छ। उनीहरूलाई सीप विकास, आयआर्जन तथा अन्य कार्यक्रममार्फत आर्थिक, प्राविधिक र सामाजिक सहयोगका साथै आवश्यक परामर्शसमेत प्रदान गरिँदै आएको उहाँले बताउनुभयो।
नगर प्रमुख लामाले वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका नागरिकलाई स्थानीय सरकार उनीहरूको दुःखमा साथमा रहेको अनुभूति गराउन कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो। चाडपर्वका बेला आश्रित परिवारको मुहारमा मुस्कान ल्याउने उद्देश्यले सहयोग गरिएको उल्लेख गर्दै उहाँले कार्यक्रमलाई अन्यथा व्याख्या नगर्न आग्रह गर्नुभयो।
“हामीले अहिले उपलब्ध गराएको रकमले सबै समस्या समाधान हुँदैन। तर, उहाँहरूलाई चाडपर्वका बेला केही खुसी बाँड्न र स्थानीय सरकार साथमा छ भन्ने अनुभूति गराउन खोजेका हौँ,” नगर प्रमुख लामाले भन्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलालले वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका नागरिकको पीडामा मलम लगाउने प्रयासस्वरूप चाडपर्व खर्च उपलब्ध गराइएको बताउनुभयो। रकम पर्याप्त नभए पनि चाडपर्वका बेला परिवारसँग खुसी साट्न र केही राहत महसुस गर्न सहयोग पुग्ने उहाँको विश्वास थियो।
चौदण्डीगढी नगरपालिकाले आगामी दिनमा पनि चाडपर्व खर्चसँगै सीप विकास र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिँदै वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका तथा विपन्न नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।







प्रतिक्रिया दिनुहोस्