Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला


91
Shares

कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ ।

गत शनिबार दोधारा–चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारु बेपत्ता भएका थिए ।

सोही दिनदेखि सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि पाँचौँ दिनमा शव फेला परेको हो । थारुको शव आज बेपत्ता भएको स्थानबाट १०÷१५ मिटर दक्षिणतिर भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । “शव अड्किएका अवस्थामा फेला परेको छ”, उहाँले भन्नुभयो, “शव परीक्षणपछि परिवारको जिम्मा लगाउँछौँ ।”

बर्दियाको ठाकुरबाबा नगरपालिकाका–६ का थारु बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा–चाँदनीस्थित सशस्त्र प्रहरीको सीमासुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो ।

दुई साताअघि दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो । पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियाे ।