Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितताको आरोप


572
Shares

काठमाडौं । मलेसियाका लागि नेपाल सरकारद्वारा प्रश्तावित राजदुत चुडामणि खरेलमाथि संसदीय सुनुवाई समितिमा गम्भीर आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वका प्रश्नहरू उठेका छन् ।

समितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले खरेलविरुद्ध ठगी, सार्वजनिक जग्गामा चलखेल र म्यानपावर व्यवसायीसँगको अनुचित सम्बन्धबारे प्रमाणसहित प्रश्न उठाउनुभएको हो । मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाई प्रक्रिया निकै पेचिलो बनेको छ ।

समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गरिरहँदा उनीमाथि विभिन्न विवादित विषयमा प्रश्नको ओइरो लागेको हो । सांसद खत्रीले झापाका स्थानीयसँग अनुदान दिलाउने भन्दै लाखौँ रुपैयाँ लिएको, सामाजिक सञ्जालमा समेत पीडितलाई ब्लक गरेको र पोखराको सार्वजनिक जग्गा मिलाइदिने भन्दै करोडौँ रकम असुल गरेको जस्ता गम्भीर आरोप लगाउनुभयो ।

सांसद खत्रीले खरेलले केही म्यानपावर व्यवसायीबाट राजदूतको पदमा काम गरिदिने प्रलोभन देखाएर रकम लिएको र तिनै व्यवसायीले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्दै आएको दाबीसमेत गर्नुभयो ।

यतिमात्र होइन, विभिन्न संघसंस्थामा काम गर्दा उनको नाममा लाखौँ रुपैयाँ बेरुजु रहेको र तराई–मधेसका जग्गा प्रकरणमा समेत उनको संलग्नता देखिएको भन्दै खत्रीले यस्ता विवादित व्यक्तिलाई किन राजदुतका लागि अनुमोदन गर्ने भनी प्रश्न गर्नुभयो ।