काठमाडौं । सामसङ नेपालले बाढीबाट प्रभावित ग्राहकलाई लक्षित गर्दै आफ्ना विद्युतीय उपकरणको मर्मत तथा नयाँ उपकरण प्रतिस्थापनमा विशेष छुट दिने भएको छ ।
कम्पनीले अक्टोबर २ देखि नोभेम्बर २, २०२६ सम्म लागू हुने गरी विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको हो । बाढीका कारण क्षति पुगेका उपकरण पुनः सञ्चालनमा ल्याउन तथा मर्मत र प्रतिस्थापनमा लाग्ने खर्च कम गर्न अभियान ल्याइएको कम्पनीले जनाएको छ ।
अभियानअन्तर्गत स्मार्टफोन, ट्याब्लेट, फ्रिज, वासिङ मेसिन, टेलिभिजनलगायतका योग्य सामसङ उपकरणमा छुट उपलब्ध हुनेछ । यसका लागि नारायणघाट सर्भिस सेन्टर र काठमाडौंको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष सेवा केन्द्र सञ्चालन गरिएको छ । घरायसी उपकरणका लागि आवश्यकताअनुसार घरमै पुगेर मर्मत सेवा दिने व्यवस्था पनि गरिएको छ ।
कम्पनीका अनुसार वारेन्टी अवधि बाँकी रहेका योग्य उपकरणको मर्मत तथा प्रतिस्थापनमा शतप्रतिशतसम्म छुट दिइनेछ । एकदेखि दुई वर्ष पुराना घरायसी तथा मोबाइल उपकरणमा ८० प्रतिशतसम्म र दुईदेखि पाँच वर्ष वा सोभन्दा बढी पुराना योग्य घरायसी उपकरणमा ७० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । त्यस्तै, दुईदेखि चार वर्ष पुराना मोबाइल फोन तथा ट्याब्लेटमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ स्थानीय तहका बाढी प्रभावित क्षेत्रका साथै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलगायत आसपासका जिल्लाका ग्राहकले यो सेवा लिन सक्नेछन् ।
मर्मतका लागि आवश्यक पार्टपुर्जा, ज्याला र ढुवानी खर्च जोड्दा उपकरणको सिफारिस गरिएको खुद्रा मूल्यको ८० प्रतिशतभन्दा बढी हुने अवस्थामा मर्मतको सट्टा नयाँ उपकरण उपलब्ध गराउने विकल्पमा विचार गर्न सकिने कम्पनीले जनाएको छ ।
यस अभियानमार्फत बाढी प्रभावित ग्राहकलाई क्षतिग्रस्त उपकरण पुनः प्रयोगमा ल्याउन र मर्मत तथा प्रतिस्थापनमा लाग्ने आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्