Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार


78
Shares

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। बाढीले गोरखाका विभिन्न स्थानमा झोलुङ्गे पुल, पक्की पुल, जलविद्युत् आयोजनाका संरचना तथा घरहरूमा क्षति पुर्‍याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टरसहित ३८६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार उद्धार कार्यमा नेपाली सेनाका १२७, नेपाल प्रहरीका ८३ र सशस्त्र प्रहरी बल नेपालका १७७ जना सुरक्षाकर्मी खटिएका छन्। बाढीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिको विवरण संकलन गर्न प्राधिकरण र सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको उहाँले बताउनुभयो।

बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, धार्चे गाउँपालिका–५ स्थित माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घर बगाएको सूचना प्राप्त भएको उप्रेतीले बताउनुभयो।

आरूघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बाढीले बगाएको छ। उक्त क्षेत्रमा माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा २० भन्दा बढी घर जोखिममा परेको जानकारीसमेत प्राप्त भएको छ।

त्यस्तै, आरूघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल पनि बाढीले बगाएको छ। बूढीगण्डकी ३४१ मेगावाट जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको प्रारम्भिक विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ।

दोभान खोला २४.५ मेगावाट जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरमा क्षति पुगेको र त्यहाँको बेलिब्रिजसमेत बगाएको जानकारी प्राप्त भएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले आरूघाटस्थित क्षतिग्रस्त पक्की पुलको विकल्पमा तत्काल बेलिब्रिज राख्न सकिने वा नसकिने विषयमा समेत प्राविधिक टोलीले अध्ययन गरिरहेको बताउनुभयो। बाढीको वास्तविक कारण, क्षतिग्रस्त संरचनाको अवस्था र उद्धारको थप आवश्यकताबारे अध्ययन भइरहेको उहाँको भनाइ छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको प्राधिकरणले जनाएको छ।