Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र आचार्यको अग्रता, महामन्त्रीमा प्रदीप पौडेल अगाडि


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ।

पछिल्लो मतपरिणामअनुसार उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्यले अग्रता लिनुभएको छ भने महामन्त्रीमा प्रदीप पौडेल अगाडि हुनुहुन्छ । महाधिवेशनमा कुल ७ हजार ४३ मत खसेकोमा उपसभापति पदमा अहिलेसम्म २ हजार २३१ मत गणना गरिएको छ।

गणनाअनुसार डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गर्नुभएको छ। मधु आचार्यले ७१२, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१, प्रा. डा. चन्द्रमोहन यादवले १९३ र सुरेन्द्रराज पाण्डेले ६८० मत प्राप्त गर्नुभएको छ।

उपसभापतिको समावेशी समूहमा विनोद चौधरी अगाडि

उपसभापतिको समावेशी समूहमा विनोदकुमार चौधरीले अग्रता लिनुभएको छ। उहाँले ६१५ मत प्राप्त गर्दा जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गर्नुभएको छ।

महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

महामन्त्री पदको मतगणनामा प्रदीप पौडेलले अग्रता कायम गर्नुभएको छ। उहाँले १ हजार ३८१ मत प्राप्त गर्नुभएको छ। उदयशमशेर राणाले ७८६, अमरसिंह पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गर्नुभएको छ।

महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ। महालक्ष्मी उपाध्याय ‘डिना’ ले ९५२ र रिता खनालले २५१ मत प्राप्त गर्नुभएको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।