Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बूढीगण्डकीको बाढीले माछिखोला बजारमा क्षति, झोलुङ्गे पुल बगायो


624
Shares

गोरखा । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको उत्तरी क्षेत्रमा पर्ने माछिखोला बजारमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले केरौंजा जाने झोलुङ्गे पुल बगाउनुका साथै सल्लेरी र जगत बजारमा समेत क्षति पुर्‍याएको छ ।

नदीमा एक्कासि पानीको बहाव बढ्दा चुमनुब्री गाउँपालिकाका विभिन्न बस्ती र नदी आसपासका संरचना प्रभावित भएका हुन् । माछिखोला बजारका संरचनामा बाढीले ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

चुमनुब्री गाउँपालिकास्थित छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर नदीको बहाव अवरुद्ध भएपछि बाढी आएको हुन सक्ने आशंका गरिएको छ । पहिरोले नदी थुनिएर जम्मा भएको पानी अवरोध खुलेपछि एक्कासि बगेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

स्थानीयका अनुसार नदी थुनिने र खुल्ने क्रम अझै जारी छ । यसले पानीको बहावमा थप उतारचढाव आउन सक्ने भएकाले नदी आसपासका बस्तीमा जोखिम बढेको छ । बाढीले माछिखोला, सल्लेरी र जगत बजारमा पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । केरौंजा जाने झोलुङ्गे पुल बगाएपछि स्थानीयको आवागमनसमेत प्रभावित भएको छ ।

नदीमा पानीको बहाव अनिश्चित रहेकाले बूढीगण्डकीको तटीय क्षेत्र तथा तल्लो भेगमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।