Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


अर्घाखाँचीमा १६ टोलीबीच टी–१० क्रिकेट प्रतियोगिता हुँदै, विजेतालाई एक लाख


65
Shares

सागर महत, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित टुँडिखेल मैदानमा स्वर्गीय रमादेवी स्मृति टी–१० खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता असोज २७ गतेदेखि सञ्चालन हुनेछ ।

प्रतियोगितामा अर्घाखाँचीसहित जिल्लाबाहिरका गरी १६ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट प्रणालीमा खेल सञ्चालन गरिनेछ । प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) बाट मान्यताप्राप्त अम्पायर तथा स्कोररले जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतियोगिताका आयोजक राज क्षेत्री, शोभाखर खत्री र सरोज रायमाझी रहेका छन् भने अर्घाखाँची क्रिकेट संघले प्रतियोगिता सञ्चालनमा सहजीकरण गर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगदसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले ६० हजार रुपैयाँ नगदसहित मेडल र ट्रफी पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) लाई १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही पाँच हजार रुपैयाँ तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) लाई दुई हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

जिल्लाबाहिरका टोलीको सहभागिताले अर्घाखाँचीमा क्रिकेटप्रतिको आकर्षण बढाउन र खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।