पोखरा । पोखरा महानगरपालिका–२८ माझठानमा विद्यालयको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक स्थानीयको मृत्यु भएपछि विद्यालयको सवारी सुरक्षा र महानगरपालिकाको अनुगमनमाथि प्रश्न उठेको छ। मृतकका आफन्तले बस पुरानो भएको भन्दै पटक–पटक विद्यालयलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।
कालिका बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया रुमिका नेपाली बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन्। उनीसँगै सुवेच्छा तिवारी, १३ वर्षीया असिम कडेल, १५ वर्षीया ममता तिवारीलगायत विद्यार्थी विद्यालयको बसमा सवार थिए। बसमा चालक ५७ वर्षीय तुलबहादुर गुरुङ र उपचारका लागि अस्पताल जाँदै गरेका ६५ वर्षीय बाबुराम तिवारी पनि थिए।
विद्यालयतर्फ जाँदै गरेको बस ओख्लेको भिरबाट खसेपछि दुर्घटना भएको थियो। दुर्घटनामा रुमिका नेपाली, सुवेच्छा तिवारी, असिम कडेल, ममता तिवारी र बाबुराम तिवारीको मृत्यु भएको छ। उद्धारमा खटिएका प्रहरी जवान अर्जुन शाही पनि घाइते भएका छन्।
दुर्घटनापछि स्थानीय शोकमा छन्। मृतकका परिवारले विद्यालयले पुरानो बस प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
‘धेरैपटक पुरानो गाडी नपठाउन भनेका थियौँ’
मृतक रुमिका नेपालीकी आमा लक्ष्मी नेपालीले बसको अवस्था राम्रो नभएको भन्दै विद्यालयलाई पटक–पटक जानकारी गराएको बताएकी छन्। उनका अनुसार उक्त बस यसअघि पनि दुर्घटनामा परेको थियो।
‘धेरै नै चोटी भनेको हो सरहरूलाई, मेरो तीन वटा बच्चा पढ्छन् त्यहाँ। त्यो गाडी पहिला पनि ठोक्किएको थियो। विद्यालयको लापरवाहीले नै यो भएको हो,’ उनले भनिन्।
पुरानो बस नपठाउन आग्रह गर्दागर्दै पनि त्यही गाडी प्रयोग हुँदा छोरी गुमाउनुपरेको भन्दै उनले न्यायको माग गरिन्।
स्थानीय सिताराम तिवारीले दुर्घटनाको खबर पाएपछि घटनास्थल पुग्दा अवस्था निकै भयावह देखिएको बताए। बसमा सवार विद्यार्थीले फोन गरेपछि आफूहरू उद्धारका लागि पुगेको उनको भनाइ छ। बसको अवस्था हेर्दा कोही पनि जीवित नरहेको हुन सक्ने लागेको भए पनि केही विद्यार्थी चलिरहेको अवस्थामा भेटिएको उनले बताए।
उनले दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने उल्लेख गर्दै बस निकै पुरानो रहेको बताए।
‘बच्चाहरूले यो सपना हो कि विपना भनेर सोधिरहेका थिए’
घटनालगत्तै उद्धारमा खटिएका कालिका बोर्डिङ स्कुलका पूर्वशिक्षक प्रकाश खड्काले दुर्घटनास्थलको अवस्था निकै डरलाग्दो रहेको बताए। सुरुमा ठूलो आवाज सुनेपछि टिपर दुर्घटना भएको अनुमान गरेको उनले सुनाए। तर, नजिकैको पसलमा रहेकी महिलाले विद्यालयको बस आउने समय भएको बताएपछि उनी घटनास्थल पुगेका थिए।
‘बसको अवस्था देख्दाखेरि मलाई एकदमै डर लाग्यो। कोही पनि जिउँदो छैनन् कि जस्तो लाग्यो,’ उनले भने।
खड्काका अनुसार घाइते विद्यार्थीलाई सुरक्षित स्थानमा सारेर उद्धार गरिएको थियो। केही विद्यार्थीले आफूलाई देखेपछि ‘प्रकाश सर, यो सपना हो कि विपना ?’ भनेर सोधेको उनले सुनाए।
उनले चालक तुलबहादुर गुरुङसँग कुरा गर्दा बस खसेपछि के भएको भन्ने स्पष्ट थाहा नभएको बताएको जानकारी दिए। दुर्घटनाको कारण भने अनुसन्धानपछि मात्रै खुल्नेछ।
तीन वर्षअघिको दुर्घटनापछि बनेका मापदण्ड कार्यान्वयन भएनन्
पोखरा महानगरपालिकामा विद्यालय बस दुर्घटना भएको यो पहिलो घटना होइन। २०८१ साउनमा पोखरा महानगरपालिका–२१ कृस्ती रामदीमा एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो।
उक्त घटनापछि महानगरपालिकाले छानबिन समिति गठन गरी विद्यालयका सवारी साधनका लागि विभिन्न सुरक्षा मापदण्ड लागू गरेको थियो। तर, पछिल्लो दुर्घटनाले ती मापदण्डको कार्यान्वयन र अनुगमन प्रभावकारी भए–नभएको विषयमा प्रश्न उठाएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो घटनापछि महानगरको अनुगमनमा भएका कमजोरीबारे समीक्षा गर्नुपर्ने बताउनुभएको छ।
उनका अनुसार विद्यालयका बसको प्राविधिक अवस्था प्रत्येक छ महिनामा परीक्षण गरी त्यससम्बन्धी विवरण बुझाउनुपर्ने व्यवस्था थियो। उक्त व्यवस्था कति प्रभावकारी रूपमा कार्यान्वयन भयो भन्ने विषयमा अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ।
महानगरले यसअघि विद्यालयका सवारी साधनको ब्रेक, टायर र इन्जिनलगायतको प्राविधिक परीक्षण गरी मेकानिकल फिटनेस प्रमाणपत्र लिनुपर्ने तथा महानगरको आधिकारिक पास स्टिकर अनिवार्य टाँस्नुपर्ने व्यवस्था गरेको थियो।
त्यस्तै, बसको सिट क्षमताभन्दा बढी विद्यार्थी वा यात्रु राख्न नपाइने, बस पहेँलो रङको हुनुपर्ने, अगाडि र पछाडि स्पष्ट रूपमा ‘स्कुल बस’ लेख्नुपर्ने तथा गति नियन्त्रण गर्ने प्रविधि जडान गर्नुपर्ने मापदण्ड पनि तोकिएको थियो। विद्यालय सञ्चालन हुनुभन्दा बढीमा एक घण्टा ३० मिनेटअघि मात्रै विद्यार्थी ओसारपसार गर्न पाउने व्यवस्था गरिएको थियो।
यी मापदण्डको कार्यान्वयन अवस्था र दुर्घटनासँग तिनको सम्बन्धबारे छानबिनबाट स्पष्ट हुनुपर्ने देखिन्छ।
पाँच दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन
दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य छन्।
समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। विद्यालयका सवारी साधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीबारे सुझाव दिन पनि समितिलाई भनिएको छ।
तर, छानबिनपछि विद्यालयमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने विषयमा मृतकका परिवारले आशङ्का व्यक्त गरेका छन्। उनीहरूले विद्यालयको सम्भावित लापरवाहीबारे निष्पक्ष अनुसन्धान गरी दोषी देखिने पक्षलाई कारबाही गर्न माग गरेका छन्।
महानगर प्रमुख आचार्यले भने कारबाहीसम्बन्धी विषय छानबिन प्रतिवेदनका आधारमा अघि बढ्ने बताउनुभएको छ।









प्रतिक्रिया दिनुहोस्