Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


संविधान र लोकतन्त्र धरापमा : पुष्पकमल दाहाल


0
Shares

काठमाडाैं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संविधान र लोकतन्त्र नै अप्ठ्यारोमा परेको बताउनुभएको छ । 

काठमाडौंको खुलामञ्चमा आईतवार आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सत्ताको स्वेच्छाचारिता र अराजकताले लोकतान्त्रिक प्रणालीलाई जोखिममा पारेको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री दाहालले समावेशी लोकतन्त्रसहितको सङ्घीय गणतन्त्र शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै त्यसको रक्षाका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनु भयो । शान्ति सम्झौताका केही पक्षहरू अझै टुङ्गिन बाँकी रहेको भन्दै उहाँले त्यसलाई पूर्णता नदिए देश पुनः अस्थिरतातर्फ धकेलिन सक्ने खतरा औँल्याउनु भयो ।

उहाँले विशेष गरी नेपाली काँग्रेसका सभापति गगन थापालाई लक्षित गर्दै शान्ति सम्झौताका बाँकी काम पूरा गर्ने जिम्मेवारी वोध गराउनु भयो । वर्तमान राजनीतिक दलहरूको खुम्चँदो अवस्थाबारे चर्चा गर्दै दाहालले दलका नेताहरूप्रति आफ्नो भरोसा रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘देश अप्ठ्यारो अवस्थामा छ, लोकतन्त्र चुनौतीमा छ र हामीले निर्माण गरेको समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान पनि चुनौतीमै छ । यस्तो अवस्थामा संविधान र लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्न सबै राजनीतिक दलहरू मिलेर अघि बढ्न आवश्यक छ । समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धि हो । शान्ति प्रक्रियाका धेरै काम सफलतापूर्वक सम्पन्न भएपनि केही काम अझै बाँकी छन् । ती काम समयमै टुङ्ग्याउन नसकिए देश फेरि अप्ठ्यारो परिस्थितिमा जान सक्छ ।

शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ताको नाताले म नेपाली काँग्रेसका सभापति गगन थापाजीलाई विशेष आग्रह गर्न चाहन्छु, बाँकी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने जिम्मेवारीलाई प्राथमिकताका साथ अघि बढाउनुहोस् । शान्ति सम्झौतामार्फत महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारूलगायत समुदायले प्राप्त गरेका अधिकार र पहिचानलाई अझ सुदृढ गर्दै शान्ति सम्झौतालाई पूर्ण सफलताको उदाहरण बनाउने दिशामा तपाईंको नेतृत्व अघि बढोस् भन्ने मेरो विश्वास छ । अब धेरै कुरा गर्न चाहन्न । समय पनि घर्किसकेको छ । गगनजी र अन्य नेताहरूको कुरा सुन्न बाँकी नै छ । तर यहाँ उपस्थित सबै राजनीतिक नेतृत्वप्रति मेरो उत्तिकै सम्मान, माया र भरोसा छ । मलाई विश्वास छ, आउने दिनमा हामी सबैले आपसी समझदारी र सहकार्यका साथ समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक नेपाल निर्माण गर्न सफल हुनेछौँ ।’

उहाँले रास्वपा सभापति रवि लामिछाने र काँग्रेस नेताहरूप्रति सम्मान व्यक्त गर्दै आउँदा दिनमा समझदारीका साथ समृद्ध नेपाल निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले दलहरूबीचको ध्रुवीकरणभन्दा पनि राष्ट्रिय मुद्दामा सहमतिको खाँचो रहेको बताउनुभयो ।