काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले वैकल्पिक व्यवस्थापनको तयारी थालेको छ।
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि झन्डै साढे चार सय मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको हो। त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् अवरुद्ध भएपछि ती क्षेत्रमा रहेका प्रसारण लाइनमा थप चाप परेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार त्रिशूली करिडोरबाट विद्युत् आपूर्ति रोकिएपछि वैकल्पिक प्रणाली विकास गर्ने गृहकार्य अघि बढाइएको छ। यसका लागि नेपाल विद्युत् प्राधिकरणले टास्क फोर्स गठन गरेर काम गरिरहेको उहाँले बताउनुभयो।
यसैबीच, मन्त्रालयले थप भूमिगत ग्रिड निर्माणका विषयमा सडक विभाग र काठमाडौँ महानगरपालिकासँग छलफल गरेको छ। आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले थप भूमिगत ग्रिड निर्माणको काम अघि बढाएको मन्त्रालयले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्