Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कालीगण्डकी बाढीबाट सेतीवेणीमा ३२ घरमा क्षति, १०१ जना विस्थापित


0
Shares

सागर न्यौपाने,स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीमा कालीगण्डकी नदीमा आएको बाढीबाट ३२ घरमा क्षति पुगेको छ भने १०१ जना विस्थापित भएका छन्।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आज प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको हो। असोज ११ गते आएको बाढीबाट १० वटा पक्की घरमा आंशिक र २२ वटा कच्ची घरमा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। एउटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।

समयमै सूचना प्रवाह र उच्च सतर्कता अपनाइएका कारण मानवीय क्षति हुन नपाएको प्रशासनले जनाएको छ।
बाढीबाट विस्थापितलाई तत्कालका लागि महाशिला माध्यमिक विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ। पूर्ण रूपमा घर क्षति भएका परिवारलाई गल्याङ नगरपालिका र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको समन्वयमा खाद्यान्न तथा गैरखाद्यान्न सामग्री वितरण गरिएको छ।

क्षेत्रमा अस्थायी आवास, खानेपानी, विद्युत् आपूर्ति तथा डेब्रिस व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ। डेब्रिस व्यवस्थापनका लागि असोज १४ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मबाट १० जना जनशक्ति तथा स्थानीय तहको संयुक्त टोली परिचालन गर्ने तयारी गरिएको छ।

यस्तै, प्रभावित बस्ती स्थानान्तरण, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, प्रभावित परिवारको आवास पुनर्निर्माण तथा पुनःस्थापनाका लागि संघ र प्रदेश सरकारसँग समन्वय भइरहेको छ। सेतीवेणी क्षेत्रको शिला–शालिग्राम संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा समेत आवश्यक पहल अघि बढाइएको प्रशासनले जनाएको छ।

Skip This