काठमाडौं । पछिल्लो चार दिनको भारी वर्षासँगै देशभर ५४२ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ८ देखि ११ गतेसम्म भएका विपद्का घटनामा २७ जनाको मृत्यु, चार जना बेपत्ता र आठ जना घाइते भएका छन्।
विपद्बाट एक हजार ८२ परिवार प्रभावित भएका छन् भने ११४ वटा पशुचौपायामा क्षति पुगेको प्राधिकरणले जनाएको छ। यस अवधिमा पहिरो, बाढी तथा भारी वर्षासँग सम्बन्धित घटना बढी भएका छन्।
प्राधिकरणका अनुसार चार दिनमा ३०४ वटा पहिरोका घटना भएका छन्। पहिरोमा परी २० जनाको मृत्यु, चार जना बेपत्ता र सात जना घाइते भएका छन्। यस्तै, बाढीका ८७ घटनामा चार जनाको मृत्यु भएको छ।
भारी वर्षाका कारण २२७ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको छ। बाढी र पहिरोबाट ३१ वटा पुलमा समेत क्षति पुगेको प्राधिकरणको तथ्याङ्क छ।
चार दिनको अवधिमा देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको प्राधिकरणले जनाएको छ।
वर्षाजन्य विपद्का कारण जोखिममा परेका करिब दुई हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै, जाजरकोट, म्याग्दी र बागलुङलगायत दुर्गम जिल्लामा बाढी तथा पहिरोमा फसेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्