Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कपिलवस्तुमा बसमाथि ढुंगा खस्दा चार जना घाइते


0
Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडक माथिबाट ढुंगा खस्दा बसमा सवार चार जना घाइते भएका छन्।

मंगलबार राति करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमाथि अचानक सडक माथिबाट ढुंगा खसेको थियो। ढुंगाले लाग्दा बसमा सवार ३० जनामध्ये चार जना सिटले च्यापिएर घाइते भएका थिए।

घटनाको जानकारी पाएपछि पुगेको सशस्त्र प्रहरी बलको टोलीले सिटमा च्यापिएका चारै जनाको उद्धार गरेको थियो।

घाइते हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्वारीका प्रसाद थारु र ३५ वर्षीय सुरेशलाल थारु, चितवनको भरतपुर महानगरपालिका–११ की २० वर्षीया सलिना सुनार तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल रहेका छन्।

उनीहरूलाई उपचारका लागि दाङको भालुवाङ अस्पताल पुर्‍याइएको छ। प्रहरीका अनुसार चारै जना घाइतेको अवस्था सामान्य रहेको छ।