काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोले बागलुङ र पाल्पामा ठूलो जनधनको क्षति पुर्याएको छ। दुवै जिल्लामा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
बागलुङको निसीखोला गाउँपालिका–३ हर्दरामा माथिबाट खसेको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३९ वर्षीया श्यामकुमारी विक तथा उनका छोराहरू १२ वर्षीय मनोज, ९ वर्षीय मुकेश र ५ वर्षीय निसन रहेका छन्। घरमा रहेका पाँच जनामध्ये एक जना बिहानै बाहिर निस्किएकाले ज्यान जोगिएको प्रहरीले जनाएको छ।
यस्तै, पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। प्रहरीका अनुसार माथागढी–२ रुप्सेका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर मृत्यु भएको हो।
माथागढी–३ कसेनीमा पहिरोले घर पुरिँदा सुतिरहेका लिलबहादुर घर्ती, झरना घर्ती र दिना घर्ती बेपत्ता भएका छन्।
लगातारको वर्षाका कारण पाल्पाका ग्रामीण सडकसमेत अवरुद्ध भएका छन्। विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनुका साथै माडीफाँट र झडेवा क्षेत्रमा धानबाली डुबानमा परेको छ। रानीमहल क्षेत्रका होटलमा बाढी पसेको छ भने देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ घर जोखिममा परेका छन्।
प्रभावित क्षेत्रमा उद्धार तथा अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्