Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


१० दिन सुरुङमा फसेर उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज


0
Shares

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनलाई शुक्रबार अस्पतालबाट बिदा गरिएको हो। अस्पतालबाट डिस्चार्ज भएर ललितपुरस्थित निवास फर्किएका महर्जनलाई स्थानीयले विभिन्न स्थानमा फूलमाला लगाएर स्वागत गर्दै स्वास्थ्यलाभको शुभकामना दिएका छन्।

गत भदौ १० गते आएको भीषण बाढीका कारण आयोजनाको सुरुङभित्र फसेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १० दिनपछि जीवितै उद्धार गरेको थियो।

उद्धारपछि उपचारका लागि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थालाई चिकित्सकले निरन्तर निगरानीमा राखेका थिए। लामो समयसम्म सुरुङभित्र रहँदा परेको शारीरिक तथा मानसिक तनावपछि उनको स्वास्थ्यमा क्रमशः सुधार आएको अस्पतालले जनाएको छ।

शुक्रबार डिस्चार्ज हुँदा महर्जन पूर्णरूपमा होसमा र स्वस्थ अवस्थामा देखिएका थिए। उनले आफ्नो ज्यान जोगाउन खटिएका उद्धारकर्ता तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्।

Skip This