Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


डुबानको जोखिम बढेपछि दोधारा चाँदनीमा खाद्यान्न सुरक्षित स्थानमा सारियो


130
Shares

कञ्चनपुर । कञ्चनपुरमा बिहानैदेखि भइरहेको वर्षाका कारण डुबानको जोखिम बढेपछि दोधारा चाँदनी नगरपालिकाका जोखिमयुक्त क्षेत्रका बासिन्दाले खाद्यान्न तथा आवश्यक सामग्री सुरक्षित स्थानमा सार्न थालेका छन्।

दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका जोखिममा रहेका घरधुरीबाट नगर प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा खाद्यान्न तथा अन्य सामग्री जमुना आधारभूत विद्यालयमा सुरक्षित रूपमा राखिएको नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले जानकारी दिनुभयो।

यस्तै, वडा नम्बर १० कुतियाकबरका स्थानीयले पनि सम्भावित डुबानलाई मध्यनजर गर्दै खाद्यान्न, प्राथमिक उपचारका सामग्री तथा आवश्यक कागजात सेफ हाउसमा सुरक्षित राखेका छन्।

वर्षा निरन्तर भइरहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र डुबानको जोखिम थपिन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। प्रशासनले जोखिम बढेमा सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको पालना गर्न समेत अनुरोध गरेको छ।

Skip This