Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता


52
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच न्युयोर्कस्थित मुख्यालयमा बिहीबार भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे गुटेरेससँग भेटवार्ता गरेका हुन्। उक्त समय नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे हो।

भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँगै रहेको बतानुभएकाे छ। उहाँले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गर्नुभयो।

सन् १९७८ मा पर्यटकका रूपमा नेपाल भ्रमण गरेको स्मरण गर्दै गुटेरेसले आफ्नो कार्यकालपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभएकाे छ।

प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भाव र सहयोगका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमताल फुट्ने जोखिम अझै कायम रहेको बताउनुभयाे। भेटमा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा पनि छलफल भएको थियो।

त्यसैगरी, अतिकम विकसित राष्ट्रको सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न आवश्यक सहयोग र समर्थनका विषयमा समेत छलफल भएको जनाइएको छ।