Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


नेप्से ११ अंकले वृद्धि, पाँच अर्ब ४४ करोड बराबरकाे काराेबार


52
Shares

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको हो ।

नेप्से बढे पनि कारोबार रकम भने आज घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज निर्जिवन बीमा बाहेक अरु सबै उपसमूह उकालो लागेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ भने जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक पनि बढेर बन्द भएका छन् ।

९५ वटा कम्पनीको शेयर मूल्य घटेको बजारमा १७६ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ ।

नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशतले बढ्दा सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेका छन् । तर मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य भने सर्वाधिक ११.५८ प्रतिशतले घटेको छ ।

कुल ३५६ वटा स्टकको एक करोड ७२ लाख ७० हजार कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्सको सर्वाधिक ३५ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । भोलि शुक्रबार उपत्यकामा ईन्द्रजात्राको विदा परेकाले अब शेयर बजार आगामी सोमबार मात्रै खुल्नेछ ।