काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुभएकाे छ।
उहाँले निर्माण सम्पन्न पूर्वाधारको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुर्याउने बताउनुभएकाे हाे । सोही क्रममा सर्लाहीको विद्युत आपूर्ति सुदृढ गर्न निर्माण गरिएको लालबन्दी-सलेमपुर १३२ केभी प्रसारणलाइन तथा सलेमपुर सबस्टेसन सञ्चालनमा ल्याइएको छ । आयोजना अन्तर्गत नवलपुरदेखि सलेमपुरसम्म १९ दशमलव ९२ किलोमिटर लामो १ सय ३२ केभी डबल सर्किट प्रसारणलाइन तथा कूल ८४ एमभीए क्षमताको १३२/ ३३/ ११ केभी सलेमपुर सबस्टेसन निर्माण गरिएको छ ।
प्रसारणलाइन गत साउन २९ गते चार्ज गरिएको र मलंगवा ३३ केभी फिडर भदौ ३० गते सञ्चालनमा ल्याइएको हो । उक्त फिडर सञ्चालनमा आएपछि सलेमपुर सबस्टेसनबाट करिब १८ मेगावाटसम्म विद्युत आपूर्ति भएको छ । मलंगवा फिडर सञ्चालनमा आएसँगै सर्लाही क्षेत्रमा यसअघि करिब २७ केभी रहेको भोल्टेज सुधार भई करिब ३२ केभी पुगेको हाे ।
सलेमपुर सबस्टेसनबाट मलंगवा, हरिपुर, हरिपुर्वा, गरैया–डुमरिया र बरहथवा क्षेत्रलाई सेवा दिने गरी ३३ केभी फिडरहरूको व्यवस्था गरिएको छ। जसबाट जिल्लाको विद्युत आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको हाे ।









प्रतिक्रिया दिनुहोस्