Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


‘शान स्टेशन’ मार्फत लहानमा स्वच्छता अभियान तीव्र बनाइँदै (तस्वीरसहित)


91
Shares

लहान । स्वच्छतासम्बन्धी जनचेतना अभिवृद्धि गर्दै नागरिकको व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले लहान नगरपालिकाले ‘शान स्टेशन’ सञ्चालनमा ल्याउने तयारी गरेको छ।

‘घर–घरको शान, स्वच्छता अभियान’अन्तर्गत सञ्चालन गरिने उक्त कार्यक्रम स्थानीय समुदाय, विद्यालय र हाटबजारसम्म पुर्‍याउने नगरपालिकाको योजना छ।

आकर्षक टेन्टको स्वरूपमा तयार गरिएको ‘शान स्टेशन’मा खेल तथा अन्तरक्रियामार्फत स्वच्छताको सन्देश प्रवाह गरिनेछ। स्टेशनमा सहभागीले ‘ह्विल गेम’मा भाग लिन पाउनेछन् भने खेलमा सहभागी भएकाहरूलाई साबुन, सेनिटाइजर, टूथपेस्टलगायत स्वच्छतासँग सम्बन्धित सामग्री पुरस्कारस्वरूप प्रदान गरिनेछ।

कार्यक्रममार्फत शौचालय निर्माण गर्न प्रोत्साहन गर्नुका साथै निर्माण भइसकेका शौचालयको नियमित प्रयोग, सरसफाइ र साबुन–पानीको प्रयोगमा जोड दिइने नगरपालिकाले जनाएको छ। व्यक्तिगत सरसफाइका विषयमा समेत सहभागीलाई आवश्यक जानकारी दिइनेछ।

नगरपालिकाका अनुसार स्वच्छता अभियानलाई भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नराखी नागरिकको दैनिक व्यवहारसँग जोड्न ‘शान स्टेशन’को अवधारणा अघि सारिएको हो। शौचालय निर्माणपछि त्यसको नियमित प्रयोग र सफाइमा ध्यान दिनुपर्ने विषयलाई समेत अभियानले प्राथमिकतामा राखेको छ।

लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले ‘शान स्टेशन’को पाइलट प्रदर्शन भइसकेको जानकारी दिए। प्रारम्भिक परीक्षणपछि नगरका विभिन्न समुदाय, विद्यालय तथा हाटबजारमा कार्यक्रम विस्तार गरिने उनले बताए।

उनका अनुसार शौचालय बनाउनु मात्रै स्वच्छताको पूर्ण आधार होइन। त्यसको नियमित प्रयोग, सफाइ र प्रयोगपछि साबुन–पानीले हात धुने बानीसमेत विकास गर्न आवश्यक भएकाले अभियानलाई व्यवहार परिवर्तनसँग जोडिएको हो।

खेल र अन्तरक्रियाबाट स्वच्छताको सन्देश

‘शान स्टेशन’मा ‘घर–घरको शान, स्वच्छता अभियान’को लोगो तथा अभियानका सामाजिक सञ्जालसँग जोडिने क्यूआर कोड राखिनेछ। सहभागीले क्यूआर कोड स्क्यान गरी अभियानको फेसबुक तथा टिकटक पेजमा जोडिन सक्नेछन्।

त्यसपछि उनीहरू ह्विल गेममा सहभागी हुने व्यवस्था गरिएको छ। खेलका माध्यमबाट स्वच्छतासम्बन्धी जानकारी लिनुका साथै दैनिक जीवनमा प्रयोग हुने विभिन्न सरसफाइ सामग्री प्राप्त गर्ने अवसर सहभागीले पाउनेछन्।

स्टेशनमा युथ च्याम्पियनहरूले सहभागीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन्। उनीहरूले शौचालयको सही प्रयोग, शौचालय सफा राख्ने उपाय, शौचालय प्रयोगपछि साबुन–पानीले हात धुने अभ्यास तथा व्यक्तिगत स्वच्छताका विषयमा जानकारी दिनेछन्।

नगरपालिकाले अभियानमा आबद्ध युथ च्याम्पियनहरूलाई ‘शान स्टेशन’ सञ्चालन र स्वच्छतासम्बन्धी विषयमा आवश्यक अभिमुखीकरणसमेत दिएको जनाएको छ।

विद्यार्थी र समुदायलाई लक्षित

‘शान स्टेशन’लाई विद्यालय तथा समुदाय दुवै क्षेत्रमा सञ्चालन गर्ने तयारी गरिएको छ। विद्यालयमा विद्यार्थीलाई शौचालयको उचित प्रयोग, सरसफाइ, हात धुने बानी र व्यक्तिगत स्वच्छताबारे जानकारी दिइनेछ।

विद्यार्थीमार्फत घरपरिवारसम्म स्वच्छताको सन्देश पुर्‍याउने अपेक्षा नगरपालिकाले गरेको छ। समुदायस्तरमा भने शौचालय नभएका घरलाई निर्माणका लागि प्रोत्साहित गर्ने तथा निर्माण भएका शौचालयको नियमित प्रयोग र सफाइमा जोड दिइनेछ।

कार्यक्रमका क्रममा सहभागीको प्रतिक्रिया तथा गतिविधिलाई आवश्यक अनुमति लिएर फोटो र भिडियोमार्फत अभिलेख गर्ने व्यवस्था पनि मिलाइने नगरपालिकाले जनाएको छ।

लहान नगरपालिकाले खुला दिसामुक्त अवस्थालाई दिगो बनाउँदै स्वच्छतासम्बन्धी व्यवहारमा सुधार ल्याउन यसअघि पनि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सडक नाटक, समुदायस्तरीय गतिविधि तथा सरसफाइसम्बन्धी अभियानमार्फत नागरिकलाई स्वच्छताको महत्त्वबारे जानकारी दिँदै आएको नगरपालिकाको भनाइ छ।

‘घर–घरको शान, स्वच्छता अभियान’अन्तर्गतको ‘शान स्टेशन’लाई त्यही अभियानको थप प्रभावकारी माध्यमका रूपमा अघि बढाइएको हो। नगरपालिकाका अनुसार कार्यक्रमको लक्ष्य शौचालयको संख्या बढाउनु मात्र नभई निर्माण भएका शौचालयको नियमित प्रयोग, सफाइ र व्यक्तिगत स्वच्छतालाई नागरिकको दैनिक व्यवहारमा स्थापित गर्नु हो।