Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


उदयपुरका भोटेकोशी बाढीमा बेपत्ता २१ मध्ये ५ सम्पर्कमा १६ अझै सम्पर्क विहीन


0
Shares

माधव पोखरेल, उदयपुर । गत भदौ १० गते भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका उदयपुरका २१ जनामध्ये हालसम्म पाँचजना परिवार र प्रहरीको सम्पर्कमा आएका छन् भने १६ जना सम्पर्कविहीन छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विभिन्न कामको सिलसिलामा रसुवा, नुवाकोट र धादिङ क्षेत्रबाट बाढीपछि सम्पर्कविहीन भएका २१ जनामध्ये आइतबार बिहानसम्म पाँचजना सम्पर्कमा आएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार बाढीका क्रममा रसुवा, नुवाकोट, धादिङलगायत जिल्ला विभिन्न तटीय क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन तथा अन्य कामका लागि पुगेका उदयपुरका नागरिक प्रभावित भएका हुन् ।

उनले भने, ‘परिवारले सम्पर्कविहीन भएपछि प्रहरीलाई दिएको जानकारीअनुसार हाइड्रोपावर, टिमुरे बजार तथा अन्य क्षेत्रमा मजदुरी र रोजगारी गर्दै आएकाहरू सम्पर्कविहीन भएका थिए । त्यसमध्ये पाँचजना प्रहरी र परिवारको सम्पर्कमा आएका छन् ।’ उनका अनुसार फेला परेकाहरूमा त्रियुगा नगरपालिका– ९ का २५ वर्षीय भोलाराज कार्की, उदयपुरगढी गाउँपालिका– १ का २७ वर्षीय सुमन तामाङ, २९ वर्षीय जीवन तामाङ, कटारी नगरपालिका– ५ का ४४ वर्षीय प्रेम रोका र त्रियुगा नगरपालिका– २ का २२ वर्षीय अनिल कामी रहेका छन् । उनीहरू पाँचैजना परिवारको सम्पर्कमा आएका छन् ।

यसैगरी, हालसम्म प्रहरी र परिवारको सम्पर्कमा नआएका सम्पर्कविहीनको संख्या १६ रहेको छ । एसपी चापागाईंका अनुसार सम्पर्कविहीन हुनेमा त्रियुगा नगरपालिका– १४, बाजगराका १८ वर्षीय भेषराज माझी, २० वर्षीय मिलन माझी र ३२ वर्षीय चन्द्रबहादुर माझी रहेका छन् । उनीहरू रसुवास्थित हाइड्रोपावरमा मजदुरका रूपमा कार्यरत थिए ।

त्यस्तै, कटारी नगरपालिका– ५, सोक्लाहाका २० वर्षीय बुद्धिमान नेपाली छन् । उनी टिमुरे बजारको एक ग्यारेजमा काम गर्दै आएका थिए । लिम्चुङबुङ गाउँपालिका– ४, बलम्ताका २४ वर्षीय सुमन समीर राई र त्रियुगा नगरपालिका– १, रुप्नीका १७ वर्षीय बालकुमार राई रसुवाको टिमुरे पोस्टमा नेपाली सेनामा कार्यरत रहेको प्रहरी विवरणमा उल्लेख छ ।
त्रियुगा नगरपालिका– ४ का ४२ वर्षीय देवेन्द्र घिमिरे र त्रियुगा नगरपालिका– ७, चक्लाघाट कुर्तिबारीका ४० वर्षीय ध्रुव बस्नेत पनि सम्पर्कविहीन छन् ।

उनीहरू माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत थिए । उदयपुरगढी गाउँपालिका– ७, तिरिबासका ३१ वर्षीय अरुण मगर र बेलका नगरपालिका– ९, कमलाबारी खोरियाका १७ वर्षीय करण विक पनि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, कटारी नगरपालिका– ५ का ४० वर्षीय मोहनबहादुर सार्की र ४८ वर्षीय ओमकुमार सार्की पनि बाढीपछि हालसम्म सम्पर्कविहीन छन् । उनीहरू टिमुरे बजारमा काम गर्दै आएको प्रहरीको भनाइ छ । कटारी नगरपालिका– ५, दुब्लेका ५० वर्षीय लोकबहादुर विक पनि सम्पर्कविहीन छन् । उनी टिमुरेमा ज्याला–मजदुरी गर्दै आएका थिए । लिम्चुङबुङ गाउँपालिका– ४, बलम्ताका २१ वर्षीय प्रवीण राई पनि सम्पर्कविहीन छन् । उनी रसुवाको मौचाब पोस्टमा नेपाली सेनामा कार्यरत रहेको जनाइएको छ ।

यता मजदुरी गर्दै आएका कटारी नगरपालिका– २ का ६६ वर्षीय गोपी राई र उदयपुरगढी गाउँपालिका– ७ का २६ वर्षीय चन्द्रबहादुर तामाङ पनि हालसम्म सम्पक {विहीन छन् । बाढीपछि आफ्ना आफन्त सम्पर्कमा नआएपछि उदयपुरका विभिन्न परिवार चिन्तित बनेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले सम्पर्क विहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाएको छ ।